प्रधानमन्त्री ओलीले माघ २१ मा प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम केही दिन सर्न सक्ने

प्रधानमन्त्री ओलीले माघ २१ मा प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम केही दिन सर्न सक्ने

धनगढी : माघ २१ गते सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम केही दिनका लागि पर सर्न सक्ने सम्भावना रहेको छ ।

माघ २१ गते प्रधानमन्त्री आउने निश्चित भएपछि तयारीमा जुटेको प्रदेश सभा सचिवालयले प्रधानमन्त्रीको कार्यालय वा उहाँको निजी सचिवालयबाट हाल सम्म सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्न माघ २१ गते नै आउने भनि कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

यस अघि अनौपचारिक रुपमा माघ २१ गते प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने निश्चित भएको भन्दै तयारी शुरु गरिएको थियो । प्रदेश सभा सचिवालयले प्रधानमन्त्रीलाई आमन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई माघ १३ गते पत्र पठाएको थिया्े ।

मुख्यमन्त्री कार्यालयबाट पनि सोही दिन प्रधानमन्त्री कार्यालयमा निमन्त्रणा पठाएको थियो । निमन्त्रणका आधारमा अनौपचारिक जानकारी आएपछि तयारीमा जुठेको प्रदेश सभा सचिवालय औपचारिक जानकारी नआउँदा अन्यौलमा रहेको छ ।

प्रदेश सभाका सूचना अधिकारी तथा कानून अधिकृत तेजप्रकाश जोशीका अनुसार सम्बोधन गर्ने कुरा सकारात्मक रुपमा अघि बढेकोले औपचारिक जानकारी नआउँदा केही दिन सर्न सक्ने सम्भावना रहेको छ  ।

प्रधानमन्त्री ओली माघ  २० गते नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न आउने र २१ गते प्रदेश सभामा आउने गरी कार्यक्रम तय गरिएकोमा पार्टीको आन्तरिक समस्याका कारण पार्टीको कार्यक्रम स्थगित भएपछि प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम पनि सर्ने सम्भावना देखिएको हो ।

पार्टी कार्यक्रमका लागि प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाले तयारीका लागि स्वागत समिति बनाउँदा आफु पक्षीय नेताहरुलाई स्थान नदिएको भन्दै प्रदेश इञ्चार्ज भीम रावलले असहमति राखेपछि दुबैबीचको समस्याले पार्टीको कार्यक्रम स्थगित भएको पार्टी स्रोतले जानकारी दिएको छ ।