बाह्रवन बारे अध्ययन गर्न संसदीय उपसमिति गठन

बाह्रवन बारे अध्ययन गर्न संसदीय उपसमिति गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कैलालीको बाह्रवन साझेदारी वन ब्यवस्थापन कार्यक्रम बारे अध्ययन गर्न संसदीय उप समिति गठन गरेको छ ।

समितिको आजको बैठकले समितिका सदस्य तथा कैलाली जिल्ला क्षेत्र नम्बर ४ (२) का सांसद दीर्घ सोडारीको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको हो । समितिमा महेशदत्त जोशी, पूर्णा जोशी, देवराज पाठक र कृष्ण चौधरी सदस्य रहनुभएको छ ।

फागुन मसान्त सम्म प्रतिवेदन बुझाउने गरी उपसमिति गठन गरिएको समतिका सदस्य पूर्णा जोशीले जानकारी दिइन् । साझेदारी वनमा गैरजिम्मेवार तरिकाले समिति बनाउने गरेको र आर्थिक अनियमितताका खबर आइरहेको भन्दै उपसमिति गठन गर्नुपरेको सदस्य जोशीले बताइन ।

समितिको बैठकमा सदस्यहरुले बाह्रवन साझेदारी वन ब्यवस्थापनका सन्दर्भका गम्भीर रुपमा मुद्धा उठाएपछि अध्ययन समिति गठन गर्नुपर्ने निष्कर्षमा पुगेर अध्ययनका लागि उपसमिति गठन गरिएको समितिका सभापति हर्कबहादुर कुँवरले बताए ।

सो समितिको आजको बैठकमा ८ वटा बिषयतगत क्षेत्रमा क्षेत्राधिकार रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हालसमम एउटा पनि विधेयक बनाउन नसकेको बारे मन्त्री माया भट्ट र सचिव मेघनाथ काफ्लेसित जवाफ मागिएको थियो ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले क्षेत्राधिकार अनुसार जनशक्ति नभएकोले कानून तर्जुमा गर्ने काममा ढिलाई भएको बताए ।

समितिका सदस्य पूर्णा जोशीका अनुसार आजको बैठकमा सो मन्त्रालयले गत आर्थिक बर्षका अध्ययन गरेका आयोजनाहरुको डिपिआर प्रतिवेदन र त्यसका आधारमा चालू आर्थिक बर्षमा ती आयोजनामा भएको प्रगतिबारे पनि सासंंदहरुले मन्त्रीलाई प्रश्न गरेका थिए ।

मन्त्री भट्टले समितिको अर्को बैठकमा डिपिआर प्रतिवेदन सहित उपस्थित हुने प्रतिवद्धता ब्यक्त गर्नुभएको सासंद जोशीले बताइन ।