अछाममा परम्परागत पानीघट्ट लोप हुँदै

अछाममा परम्परागत पानीघट्ट लोप हुँदै

अछाम । जिल्लाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितोको लागि विद्युतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट लोप हुने अवस्थामा पुगेका हुन ।

यहाँको चौरपाटी गाउँपालिकाका विभिन्न खोला तथा नदिमा सञ्चालन हुदैं आएका पानी घट्ट पहिलेको भन्दा अहिले कम मात्रामा सञ्चालनमा रहेका छन । गाउँपालिकाको गैरीगाड, बुढीगंगा नदि, सेती नदि, शिरखोला र अन्य खोलाहरुमा परम्परागत पानी घट्ट सञ्चालन हुदैं आएका थिए । यस क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गरेका छन ।

अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि पानी घट्ट लोप हुन थालेको चौरपाटी गाउँपालिका–१ मा परम्परागत पानी घट्ट सञ्चालन गर्दै आउनु भएका गोपाल साउँदले जानकारी दिए । उनका अनुसार पहिले गैरीगाड खोलामा मात्रै दर्जनौंको सख्यामा पानीघट्ट सञ्चालनमा रहेका थिए । तर अहिले भने गाउँपालिकामा विद्युतको पहुँच पुगेसँगै पानीघट्ट लोप हुने अवस्थामा पुगेको उनले बताए ।

गाउँपालिकामा विद्युत नपुग्नु भन्दा पहिले आफ्नो पानीघट्टमा गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने स्थानीयको भिड लाग्ने गरेको पानी घट्ट सञ्चालक साउँद बताउँछन । तर अहिले भने हप्तामा ४–५ जना मात्रै आउने गरेको उनले सुनाए ।  यस्तै बढ्दो प्रविधिको प्रयोग र खोलानालामा पानीको मात्रा कम हुदै जानुले परम्परागत पानी घट्ट लोप हुदै गएको अर्का पानीघट्ट धनी कृष्ण बहादुर साउँदले बताए ।

आफुले पहिले पानी घट्ट चलाउदैँ आएको तर अहिले घट्टमा पिसानी गर्न कोही पनि नआउने नभएका कारण घट्ट बन्द गर्नु परेको उनले दुखेसो पोखे । पानी घट्टबाट अन्न पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको छ । अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानी पिसानी गर्ने मिल तथा चक्कीहरु ठाउँठाउँमा सञ्चालन भएपछि घट्टमा कुटानीपिसानी गर्ने चलन घट्दै गएको स्थानीय खडक बहादुर साउँदले बताए ।

उनले यो गाउँपालिकामा मात्रै नभएर जिल्लाका प्रमुख खोला तथा नदिहरुमा सञ्चालनमा रहेका परम्परागत पानीघट्ट लोप हुने अवस्थामा पुगेका बताए । जिल्लाका बुढीगंगा नदि र कैलाश खोला लगायतका स्थानमा रहेका पानीघट्ट संरक्षणको अभावमा बन्द हुन थालेका छन ।  परम्परागत पानी घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेकोले पनि परम्परागत घट्टप्रति स्थानीयको चासो कम हुदै गएको स्थानीवासी बताउँछन । घरमा प्रयोग हुने जातोलाई घट्टले विस्थापित गरेको र घट्टलाई विद्युतीय मिलहरुले विस्थापित गरेको छ ।

पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विद्युतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षणको अभावले लोप हुदै गएका छन । परम्परागत पानी घट्ट, ढिकि, जातो संरक्षणमा स्थानीय सरकार र आधुनिक पुस्ताको ध्यान पुग्न सकेको छैन् ।