कैलालीमा कोभिडपछि निको भएका संक्रमितमा थप समस्या देखिँदै

कैलालीमा कोभिडपछि निको भएका संक्रमितमा थप समस्या देखिँदै

कैलालीको टीकापुरकी २३ वर्षीया १ युवतीलाई कोरोना भाइरसको संक्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई संक्रमण देखिएको २८ दिनपछि संक्रमण मुक्त भयो ।
संक्रमणबाट मुक्त भए पनि उनको स्वास्थ्यमा समस्या रहिरह्यो । ‘मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन,’ युवतीले भनिन्, ‘कोरोना संक्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।’ स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिए र खानपिनमा ध्यान दिन भने । संक्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उनको छ ।
टीकापुरका ४० वर्षीय युवकलाई संक्रमण निको भएको १ महिना भइसकेको छ । बरु संक्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक संक्रमणमुक्त भएपछि अस्वस्थ छन् ।सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उनी बताउँछन् ।
संक्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उनी काठमाडौंमा उपचाररत छन् । ‘परिवार नै संक्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो,’ युवकले भने, ‘काठमाडौंमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा संक्रमण भएको देखिएको छ ।’
जानकी गाउँपालिकाकी ५० वर्षीय महिलालाई पनि कोरोना पोजेटिभ देखियो । उनको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर ९सास फेर्न सहज हुने औषधि० औषधि सेवन गर्नु भनेको उनले जानकारी दिइन् ।
टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका १–२ बिरामी नियमित आइरहेको बताउँछन् । ‘कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा संक्रमण भएको देखिन्छ,’ डा। उपाध्यायले भने, ‘समस्या हेरेर उपचार गरिरहेका छौं । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।’
उपाध्याय संक्रमण देखिएकाहरूले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिन्छन् । ‘समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ,’ उनी भन्छन्, ‘कोरोना संक्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।’
संक्रमित र तिनका परिवार अधिकांशलाई मनोसमस्या देखिन थालेको छ । टीकापुर–२ का १८ वर्षीय बालकलाई संक्रमण देखियो । ज्वरो निकै बढेपछि उनी बर्बराउन थाले । बालकलाई करीब १ हप्ता निकै गाह्रो भयो । पछि उनमा मनोसमस्या देखियो ।
‘डराउने, लुक्ने, घरबाट भाग्ने गर्न थाल्यो,’ बालकका काकाले भने, ‘उसलाई थुनेर राख्नुपर्ने अवस्था आयो । छोरालाई एक्लै छाड्न नमिल्ने अवस्था आएपछि हामी २ काका ऊसँगै रातदिन बस्न थाल्यो । हामी पनि संक्रमित भयौं ।’
हाल बालक र बालकका २ काका संक्रमणमुक्त भइसकेका छन् । ‘संक्रमण निको भएपछि बच्चालाई उपचारमा लग्यौं, चिकित्सकले केही दिन परामर्श गर्नुभयो । निदाउने औषधि दिनुभयो,’ बालकका काका भन्छन्, ‘आजभोलि मनोपरामर्शकर्ताले भर्चुअल माध्यमले परामर्श दिइरहनुभएको छ ।’
कैलालीको टीकापुर नगरपालिकाले संक्रमित र संक्रमितका परिवारमा मनोसमस्या देखिन थालेपछि मनोसामाजिक क्षेत्रमा काम गरिरहेका संस्थालाई गुहारेको छ । कैलालीमा कार्यरत एक संस्थाले टीकापुरमा संक्रमितका घरमा पुगेर मनोपरामर्श दिने काम थालेको छ ।
‘हामीले गत वर्षदेखि अहिलेसम्म करीब ३०० लाई परामर्श दिएका छौं,’ मनोसामाजिक परामर्शकर्ता धनराज विक भन्छन्, ‘विद्यालय उमेरका बालबालिकादेखि सबैलाई यो सेवा दिएका छौं । समयमै परामर्श सेवा र उपचार पाए दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।’
टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल स्वास्थ्यमा पनि मनोसमस्यालाई समस्याका रूपमा स्थानीय सरकारले नबुझेका कारण समस्या भएको बताउँछन् । ‘हरेक स्थानीय तहमा मनोचिकित्सक आवश्यक छन् । मानिस अन्य उपचार गर्छन्, तनाव व्यवस्थापनमा ध्यान छैन,’ उनी भन्छन्, ‘संक्रमितका घरदैलोमा हामी पुग्ने काम गरिरहेका छौं, केहीलाई यस्तो समस्या देखिएको छ । समस्या भएकालाई चिकित्सकसम्म पुर्‍याउने काम हामीले गरिरहेका छौं ।’
कैलालीको टीकापुर अस्पतालमा वैशाखयता कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । अस्पतालबाट संक्रमण निको भएर १९३ जना घर फर्किएका छन् । कोरोना महामारीपछि वैशाख १६ गतेदेखि बन्द रहेको बहिरङ्ग सेवा समेत असार ८ गतेबाट शुरू गरेको छ ।
महामारीपछि कोरोना संक्रमितको उपचार, अत्यावश्यक सेवा दुर्घटना, आमा सुरक्षाका कार्यक्रम, प्रसूति सेवा मात्र सञ्चालनमा राखेको अस्पतालले हाल संक्रमितको संख्या घट्दै गएपछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।