टीकापुर अस्पताललाई २ सय शय्याको बनाउने निर्णय

टीकापुर अस्पताललाई २ सय शय्याको बनाउने निर्णय

बढ्दो बिरामीको चापसँगै प्रदेश सरकारले कैलालीको टीकापुर अस्पताललाई २ सय शय्याको बनाउने निर्णय गरेको छ । शय्या थपसँगै बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउने टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले बताए ।

प्रदेश सरकारले उपप्रादेशिक अस्पताल बनाउने निर्णय गरे पनि यो आर्थिक वर्षमा बजेटको व्यवस्था भने गरेको छैन । बजेटका लागि प्रदेश सरकारलाई घचघच्याउनुपर्ने अध्यक्ष रावलले बताए ।बजेट विनियोजन नभए पनि प्रदेश सरकारले योजना बनाएर बजेट दिने भएको छ । 

टीकापुर अस्पतालका प्रमुख डा। रेमकुमार राईले अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णयले खुसी र चिन्ता दुवै लागेको बताए । अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णय भए पनि यो वर्ष बजेट विनियोजन नभएकाले कार्यान्वयन कहिले हुने भन्ने चिन्ता रहेको उनले बताए ।

अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा सबैले खुसी व्यक्त गरेका छन् । अस्पतालको सेवा वृद्धि हुने हो भने सुदूरपश्चिमका कैलाली र बर्दियाको आधा भागका जनताले प्रत्यक्ष राहत पाउने छन् ।

टीकापुर अस्पतालमा अहिले १६ जना डाक्टर र ३३ जना स्वास्थ्यकर्मी कार्यरत रहेका जनाइएको छ । अस्पतालमा हाडजोर्नी विशेषज्ञ, एमडीजीपी, स्त्रीरोग र बालरोग विशेषज्ञ डाक्टर कार्यरत छन् । २ जना विशेषज्ञ डाक्टरको मासिक पारिश्रमिक टीकापुर नगरपालिकाले भुक्तानी गर्दै आएको छ ।