प्रतिनिधसभा विघटन : सभामुखका वकिलले बहस गर्दै

प्रतिनिधसभा विघटन : सभामुखका वकिलले बहस गर्दै

 प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सभामुखको तर्फबाट बहस हुने भएको छ।

शुक्रबार सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी छ। सरकारी पक्षलाई छुट्टाइएको १५ घण्टामध्ये सरकारी वकिललाई ७ र प्रधानमन्त्रीका निजी वकिललाई ७ घण्टा छुट्याइएको हो। त्यसबाट १ घण्टा सभामुखका वकिललाई छुट्टाइएको हो। 

सभामुखको सचिवालयका अनुसार वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस गर्नेछन्। त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन्। जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। अघिल्लो आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो। निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो। 

गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मङ्सिरमा मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णय बदर गरेर ती निर्णयविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन पेश भएका छन्।