भारतले पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू– कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन बरामद गरेको छ । हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । पाकिस्तान तर्फबाट आएका तस्करलाई सचेत गराउँदा गराउँदै भारतीय क्षेत्रमा आएपछि भिडन्त भएको बीएसएफले जनाएको छ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमा क्षेत्रमा केही समयदेखि लगातार लागुऔषध हिरोइन बरामद गरिरहेको छ ।
गएको शनिवार जम्मू–कश्मीर प्रहरीले लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने १० जनालाई पक्राउ गर्दा झन्डै ४५ करोड भारतीय रुपैयाँ बराबरको हिरोइन बरामद गरेको थियो । यसअघि मे २३ मा पनि प्रहरीले ५० करोड बराबरको आठ किलो र अप्रिल १४ मा १० किलो लागुपदार्थ बरामद गरेको थियो ।
यस्तै अप्रिल आठ तारिखमा पनि झन्डै ६० करोड भारतीय रुपैयाँ बराबरको लागुपदार्थ बरामद गरेको थियो । लगातार भएका यी बरामदीले कश्मीरका लागि सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आतङ्कवादले चिन्ता थपिएको कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीरबारेमा भारतको कानुन परिवर्तन हुँदा पाकिस्तानले अशान्ति फैलाउन लागुऔषध पठाउन थालेको प्रहरी अधिकारीको अनुमान छ ।
जम्मू–कश्मीरमा लागुऔषध दुर्व्यसनी बढेको र उपचारको खोजीमा अस्पताल आउने दुर्व्यसनी सङ्ख्या पछिल्लो समय निकै बढेको इमान्सको लतरहित केन्द्रका डा. यासिर बरुले बताउनुभयो ।