एमालेको एकता जोगाउन गठित कार्यदल फेरि ब्युँताइयो, बोलाइयो सिंहदरबारमा बैठक

एमालेको एकता जोगाउन गठित कार्यदल फेरि ब्युँताइयो, बोलाइयो सिंहदरबारमा बैठक

नेकपा एमालेको एकता जोगाउन गठन गरिएको कार्यदल पुनः ब्युँताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित २३ सांसदलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय समाप्त भए पनि पुनः एकता जोगाउन कार्यदल गठन गरिएको छ ।

अध्यक्ष ओलीले नेपाल पक्षका सांसदललाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।अध्यक्ष ओलीले दिएको अल्टिमेटमको अवधि समाप्त भए पनि नेपालले हस्ताक्षर फिर्ता गरेका छैनन् ।

उक्त अल्टिमेटमपश्चात् के हुन्छ भन्ने चासो भइरहेको बेला एकताका लागि पुनः कार्यदल गठन गरेर बैठक बोलाइएको छ । बेलुका ६ बजे सिंहदरबारमा बैठक बस्न लागेको बताइएको छ ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।