एमाले कार्यदलको बैठक सकियो, छलफल सकारात्मक दिशामा अघि बढेको दाबी

एमाले कार्यदलको बैठक सकियो, छलफल सकारात्मक दिशामा अघि बढेको दाबी

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठक सकारात्मक रहेको र बिहीबारसम्म सबै विवाद टुंग्याउने प्रयास भएको अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘अहिले नेताहरूसँग उहाँहरूका कुरा, भावना बुझ्ने काम पनि भइरहेको छ दुवैतर्फ । अहिलेसम्मका छलफल सकारात्मक भएको हुँदा बिहीबारसम्म टुंग्याउने गरी लाग्छौं,’ कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने । बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।

कार्यदलमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटको हकमा भाषा मिलाउनेलगायत विषयमा छलफल भएको छ ।

कार्यदलको बैठक सोमबार र मंगलबार पनि सिंहदरबारमै बसेको थियो । पहिलो दिन कार्यदलका नेताहरूबीच अनौपचारिक तहमा भएका विषयवस्तुबारे छलफल भएको थियो भने दोस्रो दिन सहमति जुटाउन खोजिएका विषयमा कार्यदल सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।

एमालेले पार्टी विवाद समाधानका लागि जेठ २ मा १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट कार्यदलमा रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन् ।