शक्ति बाँडफाँडमा अल्झियो ओली–नेपाल सहमति

शक्ति बाँडफाँडमा अल्झियो ओली–नेपाल सहमति

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ।