ऋषिङ्‌ग मझकोटमा पहिरो, १ जना बेपत्ता

ऋषिङ्‌ग मझकोटमा पहिरो, १ जना बेपत्ता

 बुधबार रातिदेखि परेको अविरल वर्षापछि खसेको पहिरोमा एक जना बेपत्ता भएका छन्।

ऋषिङ्‌ग–८, मझकोटका खुमबहादुर थापाको गोठमा भल काट्ने क्रममा पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

उनका अनुसार पहिरोमा परिएका थापाको खोजी कार्य भइरहेको छ। थापा गाउँपालिकाका सुरक्षागार्ड भएको बताइएको छ।

गोठमा भल पसेपछि भल काटिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा थापा पुरिएका हुन्‌। अहिले स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा थापाको खोजीकार्य भइरहेको छ। 

बन्दीपुरका ६ घरमा क्षति

निरन्तरको वर्षापछि आएको पहिरोले बन्दीपुरका ६ घरमा क्षति पुर्‍याएको छ। बन्दीपुर गाउँपालिका–२, खहरेस्थित ६ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। 

थापाका अनुसार घरमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन। उक्त क्षेत्रमा पहिरोको जोखिम बढी रहेकाले त्यहाँका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सकिएको थियो। उनीहरूलाई शिशु स्याहार केन्द्रमा राखिएको छ। 

‘पहिले पनि पहिरोले पुर्‍याइसकेकोले उहाँहरूलाई शिशु स्याहार केन्द्र र आमा समूहको भवनमा सारिसकेका थियौं,’ अध्यक्ष थापाले भने।

सडक अवरुद्ध 

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिकास्थित थर्पुमा खोला ठूलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ।

खोलामा लेदो माटो सहित खसेपछि सवारी आवतजावतमा हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्र हमालले जानकारी दिए। 

हमालका अनुसार हालसम्म राजमार्गमा समस्या रहेको छैन। तर डुम्रे–बन्दीपुर सडक खण्ड अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा बन्दीपुरमा पहिरोले घरहरू पुरिएको स्थानमा पुग्न समेत समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।