एमाले कार्यदलको बैठक: आज एकता टुंगोमा पुग्ने सम्भावना

एमाले कार्यदलको बैठक: आज एकता टुंगोमा पुग्ने सम्भावना

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बस्दैछ। बैठक बिहीबार विहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको र आज एकता टुंगोमा पुग्नेगरी छलफल हुन सक्ने कार्यदलका सदस्यहरुले बताएका छन्। 

बुधबार कार्यदल निष्कर्ष नजिक पुगेसँगै साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। दुई नेताबीच मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो। शीर्ष नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरु आशावादी देखिएका छन्।

शीर्ष तहमा भएको संवाद सकारात्मक रहेपछि कार्यदलको पूर्वनिर्धारित बैठक बस्न लागेको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए। उनका अनुसार आज एकता टुंगोमा पुग्नेगरी छलफल हुन सक्ने सम्भावना छ। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्।