आन्तरिक पर्यटकको रोजाइमा कैलालीको हाटखोली

आन्तरिक पर्यटकको रोजाइमा कैलालीको हाटखोली

कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि आफूहरु त्यहाँ पुग्ने गरेको उनीहरु बताउँछन् । हाटखोलीमा भेटिएका धनगढी उपमहानगरपालिका-५ तारानगरका किशोर अवस्थीले तराईको गर्मी छल्न त्यहाँ पुगेको बताए । उनीसँगै भेटिएका धनगढीकै अर्का स्थानीय सागर थापाले पनि धनगढीको गर्मी छल्न हाटखोली उपयुक्त ठाउँ भएको बताए । 

थापा प्रायः हप्ता दिन वा दुई हप्ताको अन्तरालमा साथीहरुसँगै हाटखोली पुग्ने गर्छन् । हाटखोलीमा गर्मी छल्न मात्र नभएर पिकनीक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न, मन्दिरमा दर्शन गर्न पनि मानिसहरु पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी मानिसको भीड लाग्ने गर्छ । चुरे गाउँपालिका-४ र गोदावरी नगरपालिका-४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको छ ।

पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।गर्मीको समयमा त्यहाँ दैनिक कम्तीमा पनि दुई जना आन्तरिक पर्यटक जान्छन् । हाटखोलीको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइको केन्द्र हो ।

प्राचीन कालदेखि नै गोठालाहरुले पुज्ने गरेको उक्त मन्दिरमा समेत दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको छ ।विशेष गरी माघ, फागुनतिर पुजालाग्ने भएकाले सो समयमा त्यहाँ धार्मिक पर्यटक बढी जाने गर्छन् । उक्त मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुँदै आएको छ । 

यता आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि गोदावरी नगरपालिकाले हाटखोली क्षेत्रमा पूर्वाधार विकास गर्ने योजना बनाएको जनाएको छ ।  गोदावरी नगरपालिका४ वडाध्यक्ष प्रेमबहादुर भण्डारीले पर्यटकको संख्या वृद्धि भएपछि त्यहाँ पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकतामा राखिएको बताए ।