बहुमत सदस्यले दिए प्रधानमन्त्री देउवालाई विश्वासको मत

बहुमत सदस्यले दिए प्रधानमन्त्री देउवालाई विश्वासको मत

धनगढी | प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । पुनःस्थापित प्रतिनिधि सभाको आइतवार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभामा तत्काल कायम संख्याको बहुमत सदस्यले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री देउवाले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रधानमन्त्री देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत पर्‍यो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेका केही सांसदले पनि देउवालाई भोट दिएका छन् ।

देउवालाई कांग्रेस र (माओवादी केन्द्र)का सांसदले पार्टी निर्णयबमोजिम नै मतदान गरे भने जसपाका विवादरत दुई पक्षले छुट्टाछुट्टै निर्णय गरी मतदान गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरे पनि एमालेका सांसदले समेत देउवालाई मत दिए ।

माधव नेपाल पक्षको समर्थन पाउने पक्का भएपछि नै देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका थिए । जसपाको महन्थ ठाकुर पक्षले अन्तिममा आएर विश्वासको मत दिने निर्णय गरेको थियो ।

७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारवाही गर्ने नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको थियो ।

सर्वोच्चको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।