भीम रावल एक पटक पुनः सोच्नुस् !

भीम रावल एक पटक पुनः सोच्नुस् !

अकर्मण्यताकै परिणतिले नेकपा एमालेको घर झगडा ‘वार पार’ को डिलमा पुगेको छ । एमालेको आन्तरिक जीवनमा एकपछि अर्को गर्दै तिब्र गतिमा विकास भइरहेका घटनाक्रम नियाल्दा कुनै चमत्कार भएन भने नेकपा एमाले अब अन्तिम दुर्घटनामा पुग्ने छ र त्यो अन्तिम दुर्घटना पार्टी टुक्रिनेसम्मको घटनाका रुपमा पटाक्षेप हुनेछ ।

आन्तरिक जीवनको कठिनतम् घडीमा पुगेको एमालेभित्रको विवादले राजनीतिक र समाज जति तरंगित छ, लगभग त्यत्तिकै तहमा राष्ट्रियहीतका पक्षमा अविचलित र निडर अडानहरु राख्दै बेग्लै छवी बनाउन सफल नेता भीम रावलले प्रतिनिधिसभाको सदस्य पदबाट गर्नु भएको अनपेक्षित राजीनामाको घोषणाले हलचल ल्याएको छ । 

नेता रावलले अकस्मात गर्नु भएके राजीनामाको निर्णय जति अनेपक्षित छ, त्यति नै अस्वभाविक पनि भन्नेहरु धेरै छन् यति बेला । उहाँले सांसद पदबाट राजीनामा दिने निर्णय पछाडिका जटिल र कठिन कारणहरु चाहे जतिसूकै निर्मम किन नहुन्, उहाँका लागि ब्यक्तिगत रुपमा आइलागेका ती निर्मम बाध्यताहरुको उपज राजीनामा भएपनि त्योभन्दा कैयौं गुणा बढि महत्व उहाँले अझै निर्वाह गर्नुपर्ने जनदायित्वको हो, जनअपेक्षाको हो, उहाँप्रति भरोसा गर्ने हजारौंको संख्यामा रहेका उहाँका कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुका भावनाहरुको संरक्षणको दायित्व हो । 

अनेक उल्झन र चुनौतिको सामना गर्दै अघि बढेका नेता रावलले सांसद पदबाटै दिएको राजीनामालाई अनेकले अनेक अर्थ लगाएका छन्, विश्लेषण र अनुमान गरेका छन् । उहाँलाइ चिनेजानेकाहरुका अनुमानहरु जेसूकै होऊन, मुख्य सवाल त  उहाँको निर्वाचन क्षेत्रका जनता र मतदाताहरुमा यतिबेला जुन तहको स्तब्धता र सन्नाटा छ त्यसलाइ कुनै पनि जनप्रतिनिधिले वेवास्ता गर्नै मिल्दैन । 

पार्टी कार्यकर्ता वा मतदाताको कुरा मात्रै हैन, राजनीतिभन्दा बाहिरको क्षेत्रमा क्रियाशील भएपनि देश विकास, विधि र पद्दतिको स्थापना, न्याय र समानता अनि राष्ट्रिय हीतको आकांक्षालाई भीम रावलले सम्बोधन गर्नु हुनेछ भन्ने न्युनतम् आश गर्ने म जस्ता धेरैका लागि पनि नेता रावलको राजीनामा कदापी सुखद हुन सक्दैन  । 

यसैमा, भीम रावलले अकस्मात सांसद पदबाटै राजीनामा दिएको निर्णय अनुचित छ भन्ने तर्कहरुको पल्लाभारि आफ्नो ठाउँमा छदैछ । त्यसैमा निर्भिक तथा चट्टानी अडान स्वभाव भएका राजनीतिज्ञको पहिचान बनाएका भीम रावलका सामू त्यस्तो के बाध्यात्मक अवस्था आइलाग्यो कि उहाँले जननिर्वाचित जिम्मेवारी सांसद पद नै त्याग गर्नु पर्ने अवस्था आयो रु यो सवाल पनि उत्तिकै अहं हो भन्ने लाग्छ । यसतर्फ पनि गम्भिर विमर्शको आवश्यकता अवस्य छ । 

केही दिनअघि मात्रै उहाँले एउटा विज्ञप्ती नै जारी गरेर आफूलाई पार्टी एकताका पक्षमा नलाग्न विभिन्न ठाउँबाट धम्की आएको बताउनु भएको थियो । जुन जानकारी आफैमा अर्थपूर्ण थियो । सोही विज्ञप्तीमार्फत आफूमाथि भारतीय गुप्तचर संस्थाका प्रतिनिधिसंग गुप्त भेट गरेको आरोप झुट र तथ्यहीन रहेको भन्दै उक्त आरोपको कडा शब्दमा खण्डन पनि गरिसक्नु भएकै थियो । 

तथ्यको गहन अध्ययन र त्यही तथ्यमा अडिग रहने खरो स्वभावका रावल उसो त दुई अढाई बर्षयता आफ्नै दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार र सरकारले गरेका कतिपय गलत कामहरुको भण्डाफोर गर्दै चुपचाप रहेको प्रतिपक्षी दलको भूमिकाभन्दा कडा रुपमा प्रस्तुत हुँदै आउनु भयो ।

सम्भवतः उहाँकै कडा प्रतिरोधका कारण देशलाई क्षति हुने कैयौ क्रियाकलापहरुबाट देश जोगियो । सयूक्त सैन्य अभ्यास, नागरिकता विधेयक, होली वाइन प्रकरण, विषादी जाँचमा रोक प्रकरण, परराष्ट्रनीतिको कार्यान्वयन, आइफा अवार्ड, बालुवाटार जग्गा प्रकरण, सीमा अतिक्रमण लगायतका सन्दर्भहरुमा उहाँ खरो विरोधमा उत्रिरहनु भएकै हो । परिणाम ति कार्यहरु हुन पाएनन् पनि ।

अझ, पार्टी विधि र पद्दतिअनुरुप सञ्चालन हुनुपर्ने र एमसीसीमा रहेका राष्ट्रहीत विपरीतका प्रावधानहरुको उहाँले गरेको तर्कयुक्त विरोध र प्रतिरोधले गजबको जनमत तयार भएको हो । पार्टी विवाद जटिल मोडमा पुगेपछि तपाई माधव नेपाल पक्षबाट वार्ता टोलीको संयोजक बनाईनु भयो ।

संयोजक तोकिएलगत्तैदेखि तपाईले आफ्नो पुरै बलबुता लगाएर नेपाल र ओलीबीच उच्चतम् र मर्यादाविहीनताको मार्गतिर उन्मुख टकरावलाई मत्थर पार्न कोशिस गरेको देखिएकै हो । त्यसका लागि तपाईले जीत हारभन्दा पनि दुबै पक्षको एकता गराउने संकल्पले काम गर्नुको थियो भन्ने आम बुझाइ पनि छ । तपाइले दिनरात खटेर काम पनि गर्नु भएको पनि सबैलाई थाहै छ । 

तर दुर्भाग्य बीचैमा तपाइकै भनाई अनुसार तपाइमाथि धम्की, आशंका र अविश्वास अनि अन्तिममा नेता नेपालले तपाईको सुझावविपरीत कदम चालेकोमा तपाईलाई उचाड लागेको हुन सक्ला । तपाइले राजीनामा पत्रमा संगीन सवाल उल्लेख गर्नु भएको छ ।

‘अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु,’ उल्लेख गर्नुले पनि तपाईको मन कुँडिएको प्रष्टै हुन्छ । 

एमाले विवादको जड निवर्तमान प्रधानन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अहं, दम्भ र स्वच्छाचारिता प्रधान कारण हो । सहायक कारणहरु अरु पनि होलान् । नेतृत्वकै ब्यवहारका कारण एमाले माओवादीसहित बनेको नेकपा, र अहिले आएर एमाले भित्रै पनि उत्पन्न छिन्नभिन्नको अवस्था केवल कम्युनिष्ट नेता कार्यकर्ताहरु मात्रको सवाल हुन सक्दैन । देश र आमजताको सवाल हो । यस परिणामको मुख्य जिम्मेवारी नेतृत्वकर्ता हुनुका नाताले स्वम् ओली लिनै पर्दछ । 

यस पृष्ठभूमिप्रति निकै स्पष्ट, अब्बल राजनीतिज्ञ हुनुका नाताले जस्तोसूकै परिस्थितिमा पनि तपाइले विरक्तिएको, वा आवेशमा आएको, वा अन्य कुनै प्रपञ्चप्रति दिक्दारी भएर राजीनामा दिने निर्णय लिइएको हो भने त्यो गम्भिर त्रुटीपूर्ण निर्णय हो भन्ने तपाईका अधिकांश शुभेच्छुकहरुको धारणा भावना पनि तपाइलाई थाह भैसक्यो होला । 

हो, अहिलेको राजनीतिक ब्यवस्थामा, संसदीय पार्टी पद्दतिमा एउटा दलबाट निर्वाचित प्रतिनिधिले आफ्नै दलको प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन मतदान गर्ने कुरा झट्ट हेर्दा अराजनीतिक तथा दलीय अनुशासनहीनताको पराकाष्टा हुने भएपनि घटनाक्रम यस्तो विन्दुमा पुगिसकेको थियो कि त्यहाँबाट फर्किएको खण्डमा जुनसूकै निर्णय गर्दा पनि जायज अर्थ हुनै सक्दैनथ्यो ।

विकल्पहरुमध्ये तपाईले रोजेको विकल्प उत्तम देखिएको भएपनि आखिर संघर्षको मैदान रहेका खेलाडीका लागि त्यो विकल्प पनि त उचित होइन, थिएन भन्नेहरुकोे मतभारि छ यतिबेला । ‘देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर ठानेको’ भन्ने तपाइको प्रष्टोक्ति दिदैमा तपाई वा कुनैपनि राजनीतिज्ञको मन शान्ति हुन्छ होला भन्ने लाग्दैन ।

किन कि नेपाली राजनीतिमा यो प्रवृति रातारात विकास भएको हो रु साता वा महिना वा बर्षदिनमा एकाएक विकास भएको हो रु । नेपाली राजनीति विकृत भयो भन्ने जनभावनालाई त उहिल्यैदेखि दल र नेताहरुले कुल्चिदै आएका हैनन् र रु । नेता र दलहरुले त उल्दै अन्धसमर्थक, दासहरु विकास गरेको तथ्य जगजाहेर छैन र ? ।

बरु तपाईहरु जस्तो नेताले राजनीतिभित्रका विकृतिलाई निमिट्यान्न गर्न नसकेपनि घटाउनकै लागि भएपनि अझ बढि सशक्त भएर लड्न पर्ने खाँचो पो छ त । अझ, यो निर्णयले त खासगरि सुदूरपश्चिममा राजनीतिको नाममा मनपरी गर्न चाहनेहरुका लागि त तपाईले हस्याइँती गर्ने मौका दिएको जस्तो देखियो त ।

अर्को अनुमान एमसीसीप्रति पनि छ । कांग्रेस नेतृत्वको सरकार बनिसकेपछि एमसीसी पास हुनेमा लगभग सबैको अनुमान छ । सामाजिक संजालमा आएका प्रतिक्रियाहरु हेर्ने हो भने तपाई एमसीसी पारित हुनसक्ने झमेलाबाट मूक्त हुन सांसद पदबाटै राजीनामा दिएको हो कि भन्नेहरु पनि धेरै छन् ।

तर मलाई चै यसो लाग्दैन । हो, देउवा सरकारले एमसीसी त अगाडी बढाउला नै, तर संसदमै रहेर पनि त तपैले हिजो जसरी आप्mनो फरक मत जाहेर गर्न सक्नु हुन्थ्यो भन्ने लाग्छ । त्यत्तिबाट भाग्न तपाइको राजीनामा हो भन्ने लाग्दैन । 

अन्तरनिहीत कारणहरु जेसूकै भएपनि राजीनामा पत्रमा उल्लेख गरे झै देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर ठानेको भन्ने तपैको भावनाभित्रै राजीनामाको कारण प्रष्ट त छ तर, यत्ति भनेर तपाईले उन्मूक्ति पाउन सक्ने अवस्था भने देखिन्न । 

किन कि तपाई एक ब्यक्ति मात्रै हैन, सवाल तपाईको मात्रै हैन, तपाईका पछाडी रहेको हजारौहरुको आश्था र विश्वास र भरोसाको सवाल पनि होला । यसर्थ, तपाईले जनउत्तरदायित्वमा फर्किन श्रेष्कर हुनेछ भन्ने धेरैको मतभावनालाई कदर गर्नु उचित हुन्छ होला भन्ने लाग्छ । 

नत्र राष्ट्रहीत, संविधानको रक्षा, पार्टीको सिद्धान्त, विधि र नीति विरोधी अनेक काम प्रयासलाई तपाईले विगतमा निष्काम तुल्याउन निर्वाह गर्नु भएको भूमिकाको फल अर्थहीन हुनेछ । साथै, तपाईप्रति विगतमा जुन घेराबन्दी भएको थियो, त्यो घेराबन्दी यस विन्दुमा आएर सफल भएको मानिने छ ।

अन्त्यमा तपाईको निर्वाचन क्षेत्रकै एक जना शिक्षक तिलकबहादुर कुँवरले कवितामार्फत गर्नु भएको अनुरोधको अशं –
युद्दको मैदानमा कमाण्ड गरिरहेको
सत्य, न्याय र समानताको लडाइ लडिरहेको
एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ यौद्दा हौ तिमी
निडर, स्वाभिमानी एवम् राष्ट्रवादी नेता हौ तिमी
जीवनभर संघर्ष गरी नै रह्यौ
तर अहिले थकित भएर भाग्न खोज्दैछौ रे 
प्रतिनिधिसभा सदस्यबाट राजीनामा गर्यौ रे !
अहिलेका भीम– भगौडाको पगरी गुथ्न मिल्दैन
हजारौ जनताको अभिमतलाई वेवास्ता गर्दै
कठिन अवस्थामा तिमी भाग्न मिल्दैन भीम 
तिमी भाग्न मिल्दैन भीम ।। 
 

(यो आलेख लेखकको नीजि विचार हो )