मन्त्री जोशीको निरिक्षण पछि कैलाली कारागारको अवस्था सुधार, खानेपानीको समस्या हट्यो

मन्त्री जोशीको निरिक्षण पछि कैलाली कारागारको अवस्था सुधार, खानेपानीको समस्या हट्यो

धनगढी । जीर्ण बनेको जिल्ला कारागार कैलालीको अवस्थामा सुधार आउन थालेको छ । यही असार १६ गते सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले कारागारको निरिक्षण तथा अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा कारागार भित्र भौतिक संरचना अभाव, खानेपानीको समस्या लगायत विभिन्न समस्याहरु रहेका र ती समस्याहरुको चरणबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

सोही प्रतिबद्धता अनुसार अहिले जिल्ला कारागार कैलालीको अवस्थामा केही परिवर्तन आउन थालेको बताईएको छ । मन्त्री जोशीले कारागार निरिक्षण गरेपश्चात भौतिक संरचना निर्माणका लागि भन्दै आफुहरुले १० लाख आर्थिक सहयोग पाएको कारागारका जेलर महेन्द्र सिंह खड्काले जानकारी दिए ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त सहयोग रकमबाट आफुहरुले गेट मर्मत, भ¥याङ निर्माण, कर्कट पाता, खानेपानी र भौतिक संरचनामा रङ्गरोगन लगायतका कामहरु गरेको उनले बताए । पहिलेको भन्दा मन्त्री जोशीको अनुगमन र निरिक्षण पछि कारागारका केही समस्याहरु तत्कालको लागि समाधान भएको जेलर खड्काको भनाई छ ।

“पहिलेको भन्दा कारागारमा धेरै परिवर्तन भएको भयो,’उनले भने,‘यस अगाडी अरुले निरिक्षणका क्रममा आएर आश्वासन मात्रै दिने गरेका थिए तर मन्त्री जोशीले केही भएपनि सहयोग गर्नु भयो ।” साथै उनले अझै पनि मुख्य समस्या भौतिक संरचनाको रहेको बताएका छन । भवन नहुदाँ कारागारमा क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राख्नु परेको जेलर खड्काले बताए ।

क्षमता भन्दा धेरै कैदीबन्दी भएपछि कारागारमा उनीहरुलाई निकै समस्या भैरहेको छ । १५० जना कैदी क्षमता रहेको कैलाली कारागारमा अहिले ४ सय ७२ जना कैदी राखिएका छन् । ३६ जना महिला, ३ जना आश्रिच बालबालिका र ४ सय ३३ पुरुष गरी ४ सय ७२ जना कारागारमा छन ।

क्षमताभन्दा बढी कैदी भएकाले कतिपयलाई पाल टाङ्गेर राख्नुपर्ने बाध्यता रहेका कारागारका जेलर खड्काले जानकारी दिए । विक्रम सम्वत १९९७ मा बनेको कैलाली कारागार जीर्ण अवस्थामा पुगेको छ । तेब्बर कैदी भएसंगै उनीहरुको व्यवस्थापन र सुरक्षामा चुनौती थपिदैं गएको छ ।

भौतिक संरचना निर्माणका लागि स्टमेट बनाएर कारागार व्यवस्थापन विभागलाई माग गरे पनि अहिले सम्म भने कुनै पनि सुनुवाई नभएको कैलाली कारागारका जेलर खड्काको गुनासो छ ।