कानुन मन्त्री जोशीद्वारा डोटी कारागारको अनुगमन, कारागारको अवस्था देखेर चिन्ता व्यक्त !

कानुन मन्त्री जोशीद्वारा डोटी कारागारको अनुगमन, कारागारको अवस्था देखेर चिन्ता व्यक्त !

डोटी । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जिल्ला कारागार डोटीको अनुगमन गर्नुभएको छ । मन्त्री जोशी सुदूरका ९ आटै जिल्लाका जिल्ला कारागारहरू को निरीक्षण का क्रममा आज डोटी जिल्ला कारागार पुग्नुभएको हो । 

मन्त्री जोशीको निरीक्षणले केही अवस्था सुधार हुने आसा पलाएको बताउँदै कारागारका शाखा प्रमुख लालबहादुर बोगटीले कारागारको भवन पुरानो जीर्ण भइसकेकोले नयाँ निर्माण गर्नुपर्ने बताउँदै भने,  'कारागारको क्षमता जम्मा २५ जनाको मात्र हो, यहाँ ५९ जना छन्,  एउटै कोठामा १०र१२ जनालाई राख्नुपरेको छ ।' कारागारमा खानेपानीको पनि समस्या भएको बताउनुभयो । 

साथै, कारागार प्रमुख बोगटीले कारागारको जमिन पनि थोरै भएकोले कारागार सँगै जोडिएको तर उपयोगहीन खाद्य संस्थानको जमिन र भवन कारागारले भोग चलन गर्न पाउने गरी हस्तान्तरणको लागि पहल गरिदिन हुन मन्त्रीलाई आग्रह गर्नुभएको छ । 

निरीक्षणको क्रममा बोल्दै मन्त्री जोशीले कारागारको अवस्था देखेर आफूलाई पनि निकै चिन्ता लागेको बताउनु भयो   ‘कैलाली कारागारको निरीक्षणपछि म तिन-चार दिनसम्म सुत्न सकिनँ, आज डोटीको कारागार अनुगमन गर्दा पनि अवस्था उस्तै देखियो ।’

पुराना भौतिक संरचना भएका कारागारहरूमा रहेका कैदीहरूको ज्यान भौतिक संरचनाकै कारण असुरक्षित रहेको बताउँदै मन्त्री जोशीले, 'तत्कालै नयाँ संरचना बनाउँछु त म भन्न सक्दिनँ तर चुहिने छानाको तत्काल मर्मतका लागि म पहल गर्ने बताउनु भएको छ । 

कारागार शाखाको व्यवस्थापन पक्ष राम्रो रहेको भन्दै कारागार शाखा प्रमुख, सुरक्षा इकाई र कैदीबन्दीहरु लाई मन्त्री जोशीले धन्यवाद दिनुभयो । उहाँले कैदीबन्दीहरु लाई अनुशासित भएर बन्दी जीवन बिताउन समेत आग्रह गर्नुभएको छ । 

साथै मन्त्री जोशीले फरक प्रसङ्गमा बोल्दै, 'प्रदेश सरकारले योजना छनौट गर्दा कहीँ कतै अनियमितता भएको भन्ने हल्ला सुन्नमा आएको छ । यदि त्यो कुरा साँचो हो र यस्तो प्रमाण कतै डोटीमा भए उपलब्ध गराइदिन आग्रह गर्दछु ।' कसैले जानकारी दिए स्रोत गोप्य राखिने समेत मन्त्री जोशीले जानकारी दिनुभयो ।