अर्थ मन्त्री–चिनियाँ राजदूतबीच भेट, नेपालले थप १६ लाख डाेज खाेप चाँडै प्राप्त गर्ने

अर्थ मन्त्री–चिनियाँ राजदूतबीच भेट, नेपालले थप १६ लाख डाेज खाेप चाँडै प्राप्त गर्ने

अर्थ मन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कोभिडविरुद्ध नेपाली नागरिकलाई खोप सरकारको प्राथमिकतामा रहेको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । उहाँले चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थ मन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुभएको अर्थ मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

चिनियाँ नागरिक र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली नागरिक र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताउनुभयो । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिनुभयो । 

यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उहाँले दरबार हाई स्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने बताउनुभयो ।