श्रीलंकाले तीन खेलाडीलाई एक वर्ष लगयो प्रतिबन्ध

श्रीलंकाले तीन खेलाडीलाई एक वर्ष लगयो प्रतिबन्ध

श्रीलंका क्रिकेट बोर्डले कुसल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई एक वर्षको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो महिना इंग्ल्यान्ड भ्रमणको क्रममा कुसल मेन्डिस, विकेटपिकर निरोशन डिकवेला र ओपनर दनुष्का गुणाथिलका बायो सिक्योर बबल उलंघन गर्दै होटल छाडेर बाहिर गएको कारण एक वर्ष प्रतिबन्धमा परेका हुन् ।


घरेलु क्रिकेटमा भने ६ महिना प्रतिबन्ध लागेको छ । प्रत्येक खेलाडीले १० मिलियन श्रीलंका रुपैयाँ जरिवना समेत तिर्नुपर्ने छ । अघिल्लो महिना यी तीन खेलाडी बायो सिक्योर बबल उलंघन गर्दै होटल बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले निलम्बित गर्दै अनुसन्धान गरि रहेको थियो । विहिबार अनुसन्धान सकिएको थियो । अनुसन्धान समितिले एक वर्ष प्रतिबन्ध र १० मिलियन श्रीलंका रुपैयाँ जरिवना लगाउने निर्णय गरेको हो ।

गुणाथिलकालाई २०१७ मा श्रीलंका क्रिकेट बोर्डले ६ खेल प्रतिबन्ध लगाएको थियो । अभ्यासको समयमा उनी पार्टी गरेका थिए । गतवर्ष मेन्डिस ६४ वर्षिय बृद्धलाई कारले ठक्कर दिएर मृत्यु हुँदा प्रकाउ परेका थिए । श्रीलंका पछिल्लो समय कमजोर प्रदर्शन गर्दै आएको छ । बिहिबार भारतको दोस्रो रोजाईको खेलाडी सम्मिलित टोलीविरुद्ध तीन टि२० सिरिज २-१ ले जितेको थियो । भारतसँग तीन ओडिआई भने २-१ ले गुमाएको थियो ।

कुसल मेन्डिसले श्रीलंकाबाट ४७ टेस्ट, ७९ ओडिआई र २९ टि२० आई खेलेका छन् । डिकवेलाले ४५ टेस्ट, ५३ ओडिआई र २८ टि२० आई खेलेका छन् । गुणाथिलकाले ८ टेस्ट, ४४ ओडिआई र ३० टि२० आई खेलेका छन् । आगमी अक्टोबर १७ देखि टि२० विश्वकप सुरु हुँदै छ । प्रमुख तीन ब्याट्सम्यान टोलीमा नहुँदा श्रीलंकालाई ठूलो असर पर्न सक्छ ।