“२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” बाट कैलालीका फिरुलाल चौधरी सम्मानित

“२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” बाट कैलालीका फिरुलाल चौधरी सम्मानित

धनगढी । कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित भएका छन । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै कैलालीको जानकी गाउँपालिका चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गरिएको हो ।

इन्सेकले शनिबार धनगढीमा एक समारोहको आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सो पुरस्कार वितरण गरेको हो । अभियन्ता चौधरीले पुरस्कार स्वरुप नगद ५० हजार र सम्मान पत्र पाएका हुन । सो पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, इन्सेकका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष, कैलाली प्रहरी प्रमुख लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले साउन ४ गते जानकी गाउँपालिका बस्ने फिरूलाल चौधरीलाई पुरस्कार दिने सिफारिस गरेको थियो । इन्सेकले इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएपछि सो पुरस्कार स्थापना गरेको थियो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिएको छ ।