पर्सागढीमा सिँचाइ गर्न आकाशे पानीकै भर

पर्सागढीमा सिँचाइ गर्न आकाशे पानीकै भर

पर्सागढी नगरपालिका कृषकहरू सिँचाइका लागि प्राकृतिक पानीको स्रोतहरूमा निर्भर रहेका छन्।

नगरपालिका वडा नं २ र ३ को ४०० बिगाहा कृषि भूमि प्राकृतिक पानीका स्रोतहरूमा निर्भर रहेको स्थानीयहरूले बताएका छन्।

पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्र हुदै बग्ने पानीका स्रोतहरूलाई कुलो बनाएर कृषकहरूले बाह्रैमहिना सिँचाइ गर्दै आएका छन्। पर्सागढी नगरपालिका वडा नं ३ का धुव्र कुवँरले जंगलबाट आएको पानीका मुहानहरूको माध्यमबाट सिँचाइ गर्ने गरेको बताए।

मुहानबाट आउने पानीले वडा नं २ र ३ बिरुवागुठी, झुरिटार, रामटोल, पारसटोल, झाप्राको ४०० बिगाहामा जमिनमा किसानले सहज ढंगले सिँचाइ गर्दै आएका छन्।

‘केही ठाँउमा नगरपालिकाको सहयोगमा बोरिङ पनि छ, तर हामीले चैते र असारे धान रोप्न जंगलबाट आउने मुहानको पानीमा निर्भर छौँ,’ कुँवरले भने।

पर्सागढी नगरपालिकाका स्थानीयहरूको मुख्य पेशा कृषि, पशुपालन र माछापालन हो। यो पालिकामा अधिकांश कृषकहरूले वर्षको दुईपटक (चैत र असारमा) धान खेती गर्ने गर्दछन्।

पर्सागढी नगरपालिका वडा नं २ का वडाध्यक्ष बेदमन दास थारूले प्राकृतिक पानीका मुहानहरू सुक्दै जाँदा कृषिमा सिँचाइको अवस्था नाजुक रहेको बताए।

‘हामीले १/२ ठाँउमा प्रदेश सरकारबाट डीप बोरिङ माग पनि गरेका छौँ, यस वर्ष डीप बोरिङको लागि आश्वासन पनि पाएका छौँ,’ वडाध्यक्ष थारूले भने, ‘सिँचाइका लागि साना ट्युबलेटहरू बनाइएको छ।’

निकुञ्ज र राष्ट्रिय वनले चारैतिर घेरिएको पर्सागढी नगरपालिकामा भूमिगत सिँचाइका लागि प्रयाप्त सम्भावना भएपनि कोभिड १९ कारण सिँचाइमा छुट्याइएको बजेटसमेत गत वर्ष कार्यान्वयन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

गत आवमा छुट्याइएको करिव ८० लाख रुपयाँ कोभिड १९ कारण खर्च हुन नसकेको नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख भरत यादवले जानकारी दिए।

‘कृषिमा गत आवमा नगरसभाले जुन परिकल्पना गरेर बजेट छुट्याइएको थियो-त्यो हामीले काम गर्न सकेनौँ,’ यादवले भने, ‘मेशिनरी औजार, प्राङ्गारिक मल, कृषि औजार, कृषि मोटरका लागि बजेट छुट्याएका थियौँ, केही काम भयो, तर धेरै काम बाँकी नै रह्यो’।

जीतपुरसिमरा उपमहानगरसँग जोडिएको पर्सागढी नगरपालिकामा कृषियोग्य भूमि के कति छन् भन्ने विषयमा तथ्यांक समेत भएको उनले बताए।