शिक्षामा फड्को मार्दै गोकर्णेश्वर : स्थानीय तहमा आफ्नै नगर स्काउट समिति

शिक्षामा फड्को मार्दै गोकर्णेश्वर : स्थानीय तहमा आफ्नै नगर स्काउट समिति

काठमाडौँ  । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिका स्तरीय नगर स्काउट तदर्थ समिति गठन गरेको छ । स्काउट लिडर सुरेश कुमार खड्काको नेतृत्वमा उक्त तदर्थ समिति गठन गरिएको हो ।

नगर प्रमुख सन्तोष चालिसे र उप प्रमुख शान्ति नेपालको उपस्थितिमा शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य सहित गोकर्णेश्वर नगरपालिका अन्तर्गतका स्काउट लिडरहरूको उपस्थितिमा सो समिति गठन गरिएको स्काउट लिडर कृष्ण श्रेष्ठले जानकारी गराउनु भयो ।

स्काउटका नाममा नगर भित्र विभिन्न गैह्र स्काउटहरूको क्रियाकलापलाई रोक्न लामो समयदेखि क्रियाशील स्काउट लिडरहरूलाई संलग्न गराएर समिति गठन गरिएको बताइएको छ ।
 
राज्य पूर्नसंरचनासँगै ३ तहको सरकार रहेको र नेपाल स्काउट ऐन पनि सोही अनुरूप परिमार्जित भएसँगै नेपाल स्काउट ऐन २०५० (केही नेपाल ऐनलाई संशोधित गर्ने ऐन २०७५ ) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को क्षेत्राधिकार र अधीन भित्र रही समिति गठन गरेको नगर प्रमुख चालिसेले बताउनु भयो । नगर स्काउटका संरक्षक समेत रहनु भएका चालिसेले नगर भित्र विशुद्ध स्काउटिङ गतिविधि गर्न र विश्व स्काउटको सिद्धान्त, मूल्य र मान्यता अनुरूप अघि बढ्न नवगठित तदर्थ समितिलाई निर्देशन दिनुभयो ।
 
त्यसैसरि नगर स्काउट प्रमुख समेत रहनु भएकी उप प्रमुख शान्ति नेपालले विश्व व्यापी शैक्षिक अभियानको रूपमा क्रियाशील स्काउटिङ शिक्षाको माध्यमबाट नगरका बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकास गराउन नव गठित तदर्थ समिति सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले कुनै आग्रह पूर्वाग्रहमा नलागी गैह्र राजनीतिक र स्वयंसेवी विश्व स्काउटको चरित्रलाई आत्मसाथ गरेर अघि बढ्न निर्देशन समेत दिनुभयो ।

गठित समितिका संयोजक सुरेश कुमार खड्काले आफू लामो समयदेखि गोकर्णेश्वर नगरमा स्काउटिङ अभियानमा सक्रिय भएकाले विश्व स्काउटको मूल्य, मान्यता अनुरूप नगरको माटो र समाज सुहाउँदो स्काउटिङमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले समग्र नेपाल स्काउटमा देखिएको ग्रहण बिस्तारै हट्दै जाने समेत विश्वास व्यक्त गर्नु भयो । गोकर्णेश्व् नगरपालिकाबाट उदाहरणीय काम भएको भन्दै अन्य पालिकाहरूका लागि पनि अनुकरणीय भएको बताउनु भयो ।

नेपालमै पहिलो पटक स्थानीय पाठ्य पुस्तक लागु गरेर शिक्षा क्षेत्रमा आफूलाई अग्रणी देखाएको यस नगरपालिकाले स्काउट अभियानमा फट्को मार्ने स्थानीय स्काउट लिडरहरूले विश्वास व्यक्त गरेका छन् ।