संघीय सरकारले हालै शुरु गरेको लोकप्रिय कार्यक्रम प्रदेशमा शुरु गर्न माग

संघीय सरकारले हालै शुरु गरेको लोकप्रिय कार्यक्रम प्रदेशमा शुरु गर्न माग

धनगढी : प्रदेश सभा को आजको बैठकमा बिशेष समयमा बोल्दै सत्ता पक्षीय सासंदहरुले हालै मात्र संघीय सरकारले संचालन गरेका लोकप्रिय कार्यक्रम प्रदेश सरकारले पनि शुरु गर्नुपर्ने सुझाव दिएका छन्, भने प्रतिपक्षी सासंदले प्रदेश सरकारको आलोचना गरेका छन् ।  

बिशेष समयमा बोल्दै सत्तापक्षीय नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले संघीय सरकारले शुरु गरेको स्वरोजगार तथा रोजगार कार्यक्रम प्रदेशका बेरोजगार युवाहरुलाई लक्षित गर्दै प्रदेश सरकारले पनि शुरु गर्नुपर्ने बताए ।

उनले सरकार गठन भएको समेत एक बर्ष पुरा भएकोले जनताले सरकार संग ठूलो अपेक्षा राखेका कारण जनतालाई राहत हुने गरी स्वरोजगार प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । 

सत्तापक्ष नेकपाकै सासंद बीरमान चौधरीले संघीय सरकारले ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमजस्तै प्रदेश सरकारले पनि संघीय सरकारसित समन्वय गरेर यस प्रदेशको जलविद्युत विकासका लागि जनतालाई शेयर दिने बिषयमा नीत बनाएर कार्यक्रम घोषणा गर्नुपर्ने माग गरे ।

उनले बेरोजगार युवाहरुलाई समेटेर रोजगार दिने र नसके ५० दिनलाई निर्वाह भत्ता दिने कुरा प्रदेशको हकमा पनि लागू गर्न सकिने बताए । 

तर बिशेष समयमै बोल्नुभएका प्रतिक्षी दल नेपाली कांग्रसका सासंद टेकबहादुर रैकाले भने सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आलोचना गरे । उनले सरकारले समानुपातिक सासंदहरुमाथि विभेद गरिरहेको समेत आरोप लगाएका छन । 

प्रदेश सभाको आजको बैठकमा सासंदहरुको नून उपस्थिति थियो । प्रतिपक्ष तर्फ नेपाली कांग्रेसका ५ र राजपाका १ सासंसदको उपस्थिति थियो भने सत्तापक्ष तर्फ पनि २१ जनाको मात्रै उपस्थिति थियो । प्रदेश सभाको अर्को बैठक फागुन ५ गते आइतबार दिउँसो २ बजे बस्ने छ ।