डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते गर्ने निश्चित भएपछि डोटीमा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ । 

लामो समयदेखि जिल्लाबाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेताहरू अहिले जिल्ला आइपुगेपछि यहाँको चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताहरूले कार्यकर्तासँगको भेटघाट र छलफल बढाउन थालेका छन् । पार्टीको महाधिवेशनको मिति पटक–पटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिकाका स्थानीयवासी दीपककुमार विष्टले जानकारी दिनुभयो ।

वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले पनि जिल्लामा हतार–हतार भेला र छलफल हुन थालेको कांग्रेस युवा नेता तथा केआईसिंह गाउँपालिकाका स्थानीयवासी पदम रावले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा अधिवेशन आउन थोरै दिन बाँकी छ, समय थोरै भएकाले पनि नेताहरू गाउँ केन्द्रित हुन थालेका छन् ।’

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुर लगायतका ठाउँमा अहिले प्रायः कांग्रेस नेता तथा कार्यकर्ता देखिने गरेका छन् । जिल्ला पार्टी सभापति प्रदीपकुमार देउवाले वडा समितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको जानकारी गराएसँगै कांग्रेस अधिवेशनले चर्चा पाएको हो । अहिले यहाँका नौ वटै पालिकामा रहेका कांग्रेस नेताहरूले आउँदो महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गर्न सुरु गरेका छन् । 

जिल्लामा खासै देखा नपर्ने नेताहरू वडा अधिवेशनका लागि मात्रै भए पनि आउन थालेका शिखर नगरपालिका–१ का दीपकबहादुर बोगटीले जानकारी दिनुभयो । डोटीका नौ वटै पालिकाका वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको पार्टीका पूर्वसभापति तथा कांग्रेस नेता वीरबहादुर बलायरले जानकारी दिनुभयो ।

उहाँका अनुसार डोटीका सबै पालिकाका गाउँ कमिटीमा सहमति गरेरै नेतृत्व चयन गरिने योजना रहेको छ । वडागत रूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्नेबारेमा छलफल सुरु भएको नेविसङ्घका पूर्वअध्यक्ष तथा युवा नेता सोपानसिंह बोहराले बताउनुभयो । 

नेपाली कांग्रेसको महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारीसमेत तोकिसकेको छ । केन्द्रले चुनावका लागि पठाएका आवश्यक कागजात तथा सामग्रीहरू डोटीमा आउँदै गरेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा अहिले तयारी सुरु भएको छ ।