नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

रासस    

नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । केही दिनदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमले सूचना निकालेर  समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको छ । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको हो ।

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा त्यो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।



शुक्रबार १८, भदौ २०७८ ०८:५४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस