महाधिवेशनको प्रारम्भमा देउवाको सन्देशः ‘बलियो कांग्रेस, समृद्ध देश बनाऔं’

महाधिवेशनको प्रारम्भमा देउवाको सन्देशः ‘बलियो कांग्रेस, समृद्ध देश बनाऔं’

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई संस्थागत गर्न पार्टी बलियो बनाउन जरुरी भएको बताएका छन्। पार्टीको वडा अधिवेशनको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आग्रह गरेका छन्।

उनले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेकोले सामाजिक दूरी कायम गरी सहभागी अनुरोध गरेका छन्। भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आज म निकै खुशी छु। ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु।’

नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि रहेको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन-जनमा लोकतन्त्रको रक्तसंचार गर्छ।’देउवाले भनेका छन्,‘देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु।’ विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको बताउँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन्।

उनले १४ औं महाधिवेशनमार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताएका छन्। उनले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागीलाई स्वागत तथा बधाई ज्ञापनसमेत गरेका छन्। कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ। सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए । 

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन्। पौडेलले भने, ‘१८ गतेबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ। सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन सुरु हुन्छ।’