हेटौंडा उप-महानगरबासीले अब मोबाइल एपबाटै राजश्व तिर्न सक्ने

हेटौंडा उप-महानगरबासीले अब मोबाइल एपबाटै राजश्व तिर्न सक्ने

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले आफ्ना नागरिकलाई कुनै पनि क्षेत्रको राजश्व रकम तिर्नका लागि थप सहज बनाएको छ । आम नागरिकले वडा कार्यालय वा उप-महानगरपालिका कार्यालयमा गएर रकम तिर्नु भन्दा पनि घरमै बसेर तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

उप-महानगरपालिका कार्यालय र वडा कार्यालयहरुबीच ६५ किलोमिटर अप्टिकल फाइबर सहित वडा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न भएसँगै  अब केही समयमा यसको कार्यान्वयन हुने पालिकाले जनाएको छ । उप-महानगरपालिकाको राजश्व संकलनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन मोबाइल एप प्रयोग गरी घरबाट नै कर तिर्ने व्यवस्थाको लागि आवश्यक सफ्टवेयर जडान गरिएको र सेवा सञ्चालनको अवस्थामा पुगेको पालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यसको सबै काम सकिए पनि जनसक्ति अभावका कारण सुरु गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

'यसको कार्यान्वयन हुने बित्तिकै आम नागरिकलाई कर तिर्नका लागि लाइनमा बस्नुपर्ने, पालो पर्खनुपर्ने लगायतका बाध्यताहरु रहँदैनन्' उहाँले भन्नुभयो, ‘यसले गर्दा सुशासन र सेवा प्रवाहमा सहजता ल्याउन सकिनेछ ।’