सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो दल बन्यो, १४ जना सांसदले गरे सनाखत !

सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो दल बन्यो, १४ जना सांसदले गरे सनाखत !

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । सोमबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै समाजवादी पार्टी प्रदेशमा सबैभन्दा ठूलो दल बनेको हो । यसअघि सम्म १३ जना प्रदेश सांसदहरुले नेकपा समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

भने आज प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै सो संख्या बढेर १४ पुगेको हो । यसअघि भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ सोडारी, तारालामा तामाङ्ग र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

यस्तै गत मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका थिए ।

एमालेका सभामुखबाहेक २४ मध्ये १४ जनाले समाजवादी रोजेपछि एमाले १० जनामा खुम्चिएको छ । हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन् । भने नेकपा एमालेको पक्षमा अब १० जना सांसद मात्रै रहेका छन । आज एकजनाले सनाखत गरेसँगै नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ ।