बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइयो

बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइयो

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ । चक्रपथ अन्तर्गत बेलौरी नगरपालिका वडा नम्बर–५ स्थित जननमुना विद्यालय देखि रामनगर, भकुण्डा हुँदै वडा नम्बर ४ को मोतीपुर जोड्ने सडक खण्डको नगर प्रमुख पोतिलाल चौधरीले शिलान्यास गर्नुभयो । 

भ्याट सहित ८ करोड ७६ लाख १२ हजार ४४ रुपैयाँ ६६ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माण योजना कुमार अमृत ज्वाइन्ट भेन्चर नामको निर्माण कम्पनीले ४ करोड ५९ लाख २ हजार ५ सय ९९ रुपैयाँ ३० पैसामा ठेक्का सम्झौता गरेको छ । 

यसै वर्ष जेठ १० गतेका दिन उक्त योजनाको ठेक्का सम्झौता गरी कार्य अगाडि बढाइएको र आउँदो २०७९ भदौ १० गतेसम्म योजना सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएकोले सोही बमोजिम हुने निर्माण व्यवसायी पदमराज बोहराले बताउनुभयो ।