नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम इञ्चार्ज गरिमा शाह तोक्यो

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम इञ्चार्ज गरिमा शाह तोक्यो

धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी नेतृ गरिमा शाहलाई दिएको छ। केही दिन अघि प्रदेशका इञ्चार्जको जिम्मेवारी बाँडफाँड गरेको एकीकृत समाजवादीले सुदूरपश्चिममा भने इञ्चार्ज पद खाली राखेको थियो। 

पार्टी केन्द्रीय सदस्य समेत रहेकी शाहलाई पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको एकीकृत समाजवादी पार्टी सचिवालय संयोजक बेदुराम भुसालले जानकारी दिए ।

शाह नेकपा एमालेमा हुँदा केन्द्रीय सदस्य थिइन्। एमालेमा आन्तरिक विवाद भएका बेला माधवकुमार नेपाल समूहले सुदूरपश्चिममा पार्टीको अध्यक्ष बनाइएका नेता भानुभक्त जोशीले अन्तिममा एमाले नै रोजेपछि शाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो। 

नेता जोशीले आफू एकीकृत समाजवादीमा आउने बताएपछि नेतृत्वले अन्य प्रदेशको इञ्चार्ज तोके पनि सुदूरपश्चिममा तोकेको थिएन। तर, नेता जोशी दल रोज्न पाउने समयसीमा भित्र पनि एकीकृत समाजवादीमा नआएपछि बुधबार शाहलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको हो।