कैलालीमा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

कैलालीमा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

धनगढी । नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । दीर्घ सोडारीको नेतृत्वमा रहेको कैलाली समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो ।

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले जानकारी दिए । एमालेका निर्वाचित अध्यक्ष दीर्घ सोडारी अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा समाहित भएको हो ।

एमाले कालमा सोडारीसंगै निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । सो ९६ सदस्यीय कमिटीका ५८ जना नेकपा (एस) मा गोलवद्ध भएको बताइएको छ । यसैवीच शुक्रबार नै नेकपा एकीकृत समाजवादी को प्रथम बैठक धनगढीमा बसेको छ ।

केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति छ । सुवेदी र चौधरीले बैठकमा उपस्थित सहभागिताले आफूहरु उत्साहित भएको बताए ।