गाईबस्तु चराउदा रकम पनि तिर्छन, श्रम पनि गर्छन सिमावर्ती जनता

गाईबस्तु चराउदा रकम पनि तिर्छन, श्रम पनि गर्छन सिमावर्ती जनता

धनगढी : कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको भारतसित सीमा जोडिएका बस्तीका बासिन्दाका गाईबस्तुहरु चर्नका लागि भारतीय बन क्षेत्रमा जाने गर्छन् ।

नेपाली भूमिबाट गाइबस्तु संगै जोडिएको भारतीय वनमा गए बाफत सीमा क्षेत्रको बस्तीका हरेक घरबाट भारतीय बन सुरक्षाकर्मीहरुले रकम असुल्ने गर्छन् । नगद लिने काम सामान्यजस्तै बनेको छ भने भारतीय बन बिभागका सुरक्षाकर्मीले नेपाली नागरिकहरुलाई बार्षिक रुपमा निशुल्क शारीरिक श्रम समेत गराउने गरेका छन् । 

कैलारी गाउँपालिकाको वडा नम्बर ३ को शिबरत्नपुर, मोहनपुर, निमुवाबोझी, लालपुर बडा नम्बर ५ का छोट्की पलिया, बड्की पलिया, बिशनपुर, वडा नम्बर ७ का हौसलपुर, रतनपुर र मोहनपुर लगायतका गाउँबाट भारतीय बा बिभागका सुरक्षाकर्मीहरुले बाािर्षक रुपमा रकम लिने गरेका छन् ।

उनीहरुले गाइबस्तुहरुले भारतीय बनमा चरे बाफत रकम लिने गरेको स्थानीयले बताएका छन् । भारतीय बन बिभागका कर्मचारीहरुले हरेक घरबाट तीन सय रुपैया भारु बार्षिक रुपमा लिने गरेका छन् ।

उनीहरुले रकम संकलन गरेर बुझाउन गाउँका भलमन्सालाई भन्छन् र भलमन्साले गाउँभरी खबर गरेर रकम संकलन गरेर उनीहरुलाई बुझाउने गर्छन् । यसरी रकम माग गर्न र अन्य प्रयोजनका लागि सम्पर्क गर्नका लागि भारतीय बन बिभागका सुरक्षाकर्मीहरुले गाउँका अगुवाका रुपमा रहेका भलमन्साहरुको मोबाइल नम्बर राखेका हुन्छन् ।

रकम नदिने गाउँका मान्छेहरुलाई सामान लिन भारतीय बजार जाँदा दुःख दिने गरेको वडा नम्बर ३ का अध्यक्ष कैलाश चौधरीले बताए । 

भारतीय बन बिभागका सुरक्षाकर्मीहरुले पहिला हरेक घरबाट बाािर्षक रुपमा पाँच किलो चामल समेत लिने गरेका थिए । तर आजभोली चामलको सट्टा नगद पैंसा लिन थालेका छन् । नेपाली बस्तीबाट पैंसा संकलन गर्ने भारतीय बन बिभागका चारवटा बीट छन् ।

वडा नम्बर ३ का बासिन्दाले सोनाहा बीटका बन सुरक्षाकर्मीलाई रकम बुझाउँछन् । रकम नतिरे बनमा दाउरा लिन जाँदा समेत समातेर बाघको छालासित, काठका ठूला गोलिया सित फोटो खिचेर फसाउने सम्मका कामहरु हुने गरेको वडा नम्बर ३ का अध्यक्ष चौधरी बताए । 

रकम बुझाउनु मात्रै होइन सीमावर्ती बस्तीका नागरिकहरुलाई हरेक बर्ष कम्तिमा पाँच दिन र बढीमा २० दिन सम्म श्रममा लगाउन समेत भारतीय बनकर्मीको उर्दी हुन्छ । भारतको चर्चित दुधवा नेशनल पार्क भित्र आगलागी भएको खण्डमा हुने क्षति कम गर्न बनाइएको फायर लाइन मर्मत तथा फडानीमा नेपाली नागरिकहरुले काम गर्ने गरेका छन्।

उनीहरुले काम गरिसकेपछि भारतीय बनकर्मीहरुले तयार गरेको एक डोर हाजिरीमा हस्ताक्षर समेत गर्छन् । तर काम गरे बाफत पैंसा भने पाइदैन । उनीहरु सबै काम निशुल्क गर्छन ।

भारतीय बन सुरक्षाकर्मीको उर्दीपछि जंगलमा काम गर्नुभएका शिबरत्नपुरका जालुराम चौधरी काम नगरे सामान ल्याउँदा दुःख पाइने  बताए । 

आफुले यस्तो कुराको बिरोध गरेर रकम नुबझाउँदा परिवारका सदस्यहरुले आफ्नो आँखा छलेर भएपनि भारतीय बनकर्मीलाई बुझाउन भलमन्सालाई पैंसा दिएको वडा नम्बर ५का अधयक्ष बिष्णु चौधरीले बताए ।

पैंसा नदिने गाउँबासीलाई सीमावर्ती भारतीय बजार चन्दनचौकी बाट सामान किनेर ल्याउँदा समेत उनीहरुले दुःख दिने गरेको अध्यक्ष चौधरीले बताए । 

सीमावर्ती शिबरत्नपुर गाउँ मोहना नदीपारी पर्छ । मोहनापारीका शिबरत्नपुर जस्तै अन्य गाउँ हौसलपुर, मोहनपुर र बिशनपुरका बासिन्दा बर्षातमा सबै सामानका लागि भारतीय बजारमा निर्भर हुने गर्छन् ।

त्यसकारण पनि उनीहरु भारतीय ज्यादति सहन बाध्य छन् । उनीहरुले नेपाल सरकार र सरकारी अधिकारी सित आफ्ना समस्या पटक पटक राखेका छन् । तर आफ्नो राज्यले कुनै पनि पहल नगरेकोले नै आफुहरुले ज्यादति सहनुपरेको उनीहरुको भनाई छ ।