महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।

पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्माण हुनेछन् । 

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण शुरू गरिएको सडकखण्डले गति लिएको छैन । अहिले सडकको ट्रयाक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलंगा सदरमुकामदेखि टिंकर ३० किलोमिटर दूरी रहेको छ ।

टिंकर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाइएको छ । यो सडकखण्डको त्रिदेशीय नाका टिंकर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्रयाक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले चालू आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । महाकाली लोकमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा कूल १ अर्ब ३ करोड बजेट विनियोजन भएको छ । जसमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।