भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण,अनलाईन अभिलेख राखिने

भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण,अनलाईन अभिलेख राखिने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ। नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाईन अभिलेखीकरण गर्न नगर प्रोफाईल निर्माण गरेको हो। संघीयता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा नगरपालिकाले प्रोफाईल तयार गरेको नगरपालिकाका सूचना अधिकृत विनय कलौनीले बताए। 

उनका अनुसार नगर र नगरवासीसँग जोडिएको सबै सूचनाको अनलाईन अभिलेखीकरणका लागि नगर प्रोफाईल तयार गरिएको हो। नगर प्रोफाईललाई नगर डाटा बैकको रुपमा प्रयोग गरिने उनले बताए। देशभरीका ७ सय ५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाईल निर्माण गरेका छन्।

मंगलबार एक कार्यक्रमकाबीच नगर प्रोफाईल निर्माणका परामर्शदाता स्र्माट टेक नेपालले नगरपालिकालाई प्रोफाईल हस्तान्तरण गरेको थियो। हस्तान्तरणसँगै भीमदत्त नगर प्रोफाईल सञ्चालनमा ल्याईएको छ। भीमदत्त प्रोफाईल डट हाम्रो पालिका डट ओआरजीमा लगईन गरी नगर प्रोफाईल हेर्न सकिने छ। प्रोफाईल निर्माणका लागि सबै वडामा गणक खटाईएको थियो। गणकहरुबाट जनसख्या, घरधुरी, परिवारको विवरण लगायतको तथ्याङ्क संकलन गरिएको थियो। 

गत पौषमा सुरु भएको प्रोफाईल निर्माणका कार्य कोरोना संक्रमणले प्रभावित बनेको सूचना अधिकृत कलौनीले बताए। उनका अनुसार घरधुरी सर्वेक्षणबाट तथ्याङ्क संकलन गरी अनलाईन अपडेट गरिएको छ। प्रोफाईलमा सबै वडाको घरधुरीको पेसा, रोजगारीको अवस्था, जनसंख्या, उमेर, लिङ्ग, शिक्षा–स्वास्थ्यको अवस्थाबारे तथ्याङ्क राखिएको छ। कृषी उत्पादन, जग्गा उपयोगको अवस्था, सवारी साधन तथा सूचना प्रविधिको प्रयोग पुर्वाधारको अवस्था, सार्वजनिक स्थान र सेवा प्रदायक कार्यलयको बारेमा पनि प्रोफाईलमा विवरण समेटिएको छ। 

त्यस्तै पर्यटकीय क्षेत्रहरुको बारेमा पनि जानकारी राखिएको छ। भिजिटरले सबै वितरण अनलाईनमार्फत हेर्न सक्ने छन्। नगर प्रोफाईलका बारेमा स्र्माट टेक नेपालका अमुल दहालले प्रस्तुतिकरण समेत गरेका थिए। प्रोफाईल हस्तान्तरण कार्यक्रममा साझेदारी कार्यक्रमका गभरनेन्स विज्ञ महेश नेपालले नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेका नगर प्रोफाईल निर्माण कार्य सम्पन्न भएको बताए। उनका अनुसार नेपालमा १२ वटा स्थानीय तहले मात्रै अनलाईन नगर प्रोफाईल निर्माण गरेका छन्। 

नगरपालिकासँगको सहकार्यमा अगामी दिनमा पनि थप परियोजना सञ्चालन गर्न आफुहरु तयार रहेको समेत उनले बताए। योजना निर्माण तथा सुचनाका लागि नगर प्रोफाईल महत्वपूर्ण हुने उनको भनाई छ। भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सुचनामा सहज पहुचका लागि नगर प्रोफाईल निर्माण गरिएको बताए। उनले योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकोले त्यसको अभिलेखीकरण गर्न नगर प्रोफाईल तयार पारिएको बताए। 

तथ्यमा आधारित नागरिकको अवस्था र समस्याको पहिचानका लागि तथ्याङ्क महत्वपुर्ण हुने बताउँदै नगर प्रमुख विष्टले भने ‘नगर र नागरिकसँग सम्बन्धीत सूचना सहज प्रभाव हुन्छन्, यसले योजना निर्माणमा पनि सहयोग पुग्छ।’ साथै नगर प्रमुख विष्टले प्रोफाईललाई नियमित अपडेट र तथ्याङ्क अद्यावधि गर्न विषयगत शाखा प्रमुख र सुचना फाँटलाई निर्देशन समेत दिए।

त्यस्तै योजना बैकको लागि सहरी योनजा आयोग गठन गरिएको उनले बताए। योजना आयोगले योजना निर्माणसँगै प्राथमिकिरण गर्नेछ भने त्यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकार र अन्य निकायसँग समन्वय गर्नेछ।