आज मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीलाई प्रदेश-१ र वाग्मतीको मुख्यमन्त्री दिने सहमति

आज मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीलाई प्रदेश-१ र वाग्मतीको मुख्यमन्त्री दिने सहमति

सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यस अघि भएको मन्त्रालय बाँडफाँटमा हेरफेर गर्दै सहमति गरेको हो ।

सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४र४ मन्त्रालय पाएका छन्  । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्य मन्त्री पनि पाउने सहमति भएको छ ।

कुन–कुन मन्त्रालय भन्ने टुङ्गो लगाएर हिजो नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाए पछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेन । सहमतिका लागि हिजो फेरि छलफल भएको थियो ।

छलफलमा एकीकृत समाजवादीलाई स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई कानुन मन्त्रालयको साटो स्वास्थ्य मन्त्रालय दिने र प्रदेश-१ र वाग्मती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ । भागबण्डा मिलेसँगै एकीकृत समाजवादीले  मन्त्रीको नाम टुङ्ग्याउन  आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

यस्तै, नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

यस्तै, माओवादी केन्द्रले अर्थ, उर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । जसपाले मन्त्रीको नाम भने टुङ्गो लगाउन सकेको छैन ।