लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई पक्षबीच हुन लागेको यो १३ औं वार्ता हो । पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग यी बीच द्धिपक्षीय वार्ता भएको थियो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई आग्रह गर्दै आएको छ ।

आजको वार्तामा पनि चीनलाई सेना फिर्ताका लागि थप दबाब दिने तयारी छ । वार्ता हुनु अगाडि भारतीय सेनाले चिनियाँ सेनाले सीमा क्षेत्र नछाडे आफूहरु पनि त्यही रहने चेतावनी दिएको छ ।

भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखमा वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सेनाहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिनुभएको हो ।

चीनले भौतिक संरचना निर्माण गरिरहेको भन्दै भारतीय सेनाले विरोध गरेको हो । गएको वर्ष जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच गलवान उपत्यकामा झडप भएपछि सीमा क्षेत्र बन्द गरिएको थियो ।