सेती प्रादेशिक अस्पताल लगायतका स्थानमा गरिने अव्यवस्थित सवारी पार्किङको व्यवस्थापन गर्न ध्यानाकर्षण

सेती प्रादेशिक अस्पताल लगायतका स्थानमा गरिने अव्यवस्थित सवारी पार्किङको व्यवस्थापन गर्न ध्यानाकर्षण

धनगढी : सेती प्रादेशिक अस्पताल वरपर देखिने अव्यवस्थित सवारी साधन पार्किङ बिरामी तथा तिनका कुरुवाले बेहोर्नु परेको हैरानीको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ ।

आइतबार एफएमडिसीको १९ औ स्थापना दिवसको अवसरमा सेती प्रादेशिक अस्पताल अगाडि आयोजना गरिएको ‘जहाँ समस्या त्यहाँ उपाय’ कार्यक्रम मार्फत सेती प्रादेशिक अस्पताल वरपर देखिने अव्यवस्थित सवारी साधन पार्किङ बिरामी तथा तिनका कुरुवाले बेहोर्नु परेको हैरानीको उचित व्यवस्थापन गर्न सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइएको हो ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा बढ्दो अटो रिक्साका कारण ट्राफिक जाम समेत हुने गरेको छ । धनगढी उप–महानगरपालिको मुख्य सडक क्षेत्रमा ट्राफिक जाम बढेपछि आम सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । विशेष गरी उपमहानगरपालिको मुख्य सडक क्षेत्र एलएन चोक, पार्क मोड र चौराहा देखि बसपार्क सम्मको क्षेत्रमा सर्वसाधारणले समस्या झेल्दै आएका छन् ।

‘जहाँ समस्या त्यहाँ उपाय’ कार्यक्रममा ध्यानाकर्षण तथा छलफलमा सहभागी कैलाली अस्पतालका अध्यक्ष जनक राज जोशीले मेडिकल, क्लिनिक, अस्पताल मात्रै नभएर बाजराका ठाउँ-ठाउँमा पर्किङ्ग स्थल हुनु पर्ने बताए । जोशीले नगरपालिकाले धनगढी बजार क्षेत्रमा सवारी पार्किङ, व्यवस्थापन लगायतका हरेक कार्यमा आफ्नो साथ रहने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृप वडले धनगढीमा भएका अस्तव्यस्त अटो तथा ई-रिक्सालाई दसैँ लगत्तै व्यवस्थापन गर्ने बताएका छन् ।

अहिले धनगढी उपमहानगरपालिमा झन्डै साढे ४ हजार ई-रिक्सा रहेको बताउँदै उनले दसैँ लगत्तै धनगढी उप-महानगरपालिकालाई आवश्यक पर्ने अटो रिक्सा मात्रै चल्न दिने बताए । धनगढी उप-महानगरपालिकाले ९ सय मात्रै अटो रिक्सा सिफारिस गरिएको भए पनि यहाँ भने अहिले साढे ४ हजार अटो रिक्सा चल्दै आएको वडले बताए ।

“हामीले सिफारिस गरेको ई-रिक्सा ९ सय ७२ मात्रै हो,” उनले भने, “तर अहिले यहाँ ८८ वटै स्थानीय तहका नामबाट अटो रिक्साहरू चलिरहेका छन् । अबको दसैँ लगत्तै हामी बाँकी अटो रिक्सालाई यहाँबाट विस्थापित गर्छौ । त्यसमा म आफै स्वयम यो अभियानमा अघि बढ्छु ।,”

धनगढीमा अहिले बढ्दो अटो रिक्साका कारण उप-महानगरपालिकाले ठुलो समस्या खेप्नु परेको बताए । उनले अटो रिक्सा दर्ता गर्ने कार्य बन्द गरिदिन पनि प्रदेश सरकारलाई आग्रह गरे । प्रदेश सरकारले अटो दर्ता बन्द गर्ने हो भने मात्रै यसको समाधान गर्न सकिने उनको भनाई छ । आफूले प्रदेश सरकारसँग आग्रह गरिरहेको भए पनि प्रदेश सरकारले यसबारे कुनै चासो नदिएको बताए ।

“मैले प्रदेश सरकारसँग बारम्बार यसबारे छलफल गरिरहेको छु । मैले केही दिन अघि मात्रै अर्थमन्त्री सँग मन्त्री सँग छलफल गरेको थिए, भौतिक विकासमन्त्रीसंग पनि छलफल गर्ने तयारीमा छु । दसैँ लगत्तै यसलाई समाधान गर्नुपर्छ भनेर हामी अघि बढिरहेका छौ, तर प्रदेश सरकारले त्यो गर्न मानिरहेको छैन,” उनले भने । अव्यवस्थित अटो रिक्साका कारण धनगढी बजारमा दुर्घटनाको समेत जोखिम बढ्दै गइरहेको मेयर वडले बताए ।

साथै, आयोजक एफएमडिसीले पनि आफ्नो संस्थाको तर्फबाट सकिने सत्कर्म गर्दै जाने र आफ्नो १९ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘जहाँ समस्या त्यहाँ उपाय’ कार्यक्रममा सहभागी भई आफ्नो धारणा, सुझाव र प्रतिबद्धता जनाउने सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।