'प्रदेश आमसञ्चार नीति बनाएर मात्रै आम सञ्चार ऐन ल्याउँछौँ' : मन्त्री जोशी

'प्रदेश आमसञ्चार नीति बनाएर मात्रै आम सञ्चार ऐन ल्याउँछौँ' : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुरुबाट प्रदेश आमसञ्चार नीति बनाएर मात्रै प्रदेश आम सञ्चार ऐन ल्याउने बताउनुभएको छ । 

सोमबार आफ्नै कार्यकक्षमा दसैँ, तिहार, छठ नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा पत्रकारहरू सँग शुभकामना आदान प्रदान गर्दै कार्यक्रममा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा मन्त्रीले जोशीले सो कुराको जानकारी गराउनु भएको हो । 

शुभकामना आदान प्रदान तथा छलफलका क्रममा सहभागी पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै मन्त्री जोशीले प्रदेश आमसञ्चार नीति बनाएर मात्रै प्रदेश आम सञ्चार ऐन ल्याउने बताउनुभएको छ । 

"यहाँहरू सबैले गत वर्षको आम सञ्चार नीतिको बारेमा, रेडियो, टेलिभिजन, अनलाइनको नीतिको बारेमा औल्याउनु भएको छ । हामीले त्यसको नियमावली बनाएका छैनौँ । कार्यान्वयनमा आइसकेको अवस्था छैन र हामीले सुरुबाट प्रदेश आमसञ्चार नीति बनाएर मात्रै प्रदेश आम सञ्चार ऐन ल्याउँछौँ भन्ने कुराहरूलाई अवगत गराउन चाहन्छु । त्यस कारण हामी नयाँ सिराबाट अगाडि बढिरहेका छौँ ।  सञ्चार नीतिको बारेमा यहाँहरूले भाग लिन पाउने र सुझाव दिन मिल्ने गरी चाँडै कार्यक्रम सञ्चालन गछौं । विभागीय मन्त्रालय भएकोले मन्त्रालयले कुनै हस्तक्षेप रहने छैन ।" उहाँले भन्नुभयो ।

आफ्नो कार्य व्यस्तताका बाबजुद छोटो जानकारीमा पनि उपस्थित हुनुभएकोमा तथा दसैँ लगायतका चाडपर्वको शुभकामना आदान प्रदान, अमूल्य सुझाव, सल्लाह प्रदान गर्नुभएकोमा सम्पूर्ण पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै मन्त्री जोशीले आउने आर्थिक वर्षमा प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफूले  समयमै छलफल गराएर जति सक्दो धेरै महत्त्वपूर्ण भूमिका खेल्नेबारे पत्रकारहरूलाई आश्वस्त पार्नुभएको छ । 

शुभकामना आदान प्रदान भेटघाट कार्यक्रममा मन्त्री जोशीका सचिवालय पदाधिकारी स्थिानिय, जिल्ला, प्रदेश तथा केन्द्रीय सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा पत्रकारका विभिन्न भातृ सङ्गठन लगायत नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।