दार्चुलामा जयसिंह धामी बेपत्ता तुइन प्रकरणमा भारतीय पक्षले सम्बोधन गर्ने

दार्चुलामा जयसिंह धामी बेपत्ता तुइन प्रकरणमा भारतीय पक्षले सम्बोधन गर्ने

काठमाडौँ । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय पक्षले अनुसन्धान गर्ने र त्यसको रिपोर्टको आधारमा नेपाली पक्षको चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाँच दिनको भारत भ्रमण सकेर सोमबार साँझ नेपाल फर्किएका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकासशरण महत नेतृत्वको टोलीसँग सत्तारुढ भारतीय जनता पार्टीका पदाधिकारी र सरकारका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएको महतले बताए ।

महतका अनुसार तुइन प्रकरणमा भारतले नेपालले पठाएको कुटनीतिक नोटको अध्ययन गर्ने र आफ्नो पक्षबाट अनुसन्धनान गरी नेपाली पक्षको चासो सम्बोधन गर्न तयार भएको बचन दिएको छ ।

गत साउन १५ गते भारतीय सशस्त्र बल एसएसबीले तुइनको तार काटिदिँदा नेपाली युवा धामी नदीमा खसेर बेपत्ता छन् । यस विषयमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको समितिले एसएसबीलाई दोषी देखाउँदै कारवाहीको सिफारिस गरेको थियो । समितिको रिपोर्ट आएको लामो समयपछि सरकारले भारतस्थित नेपाली दूतावासमार्फत् कुटनीति नोट पठाएको थियो ।