स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ मनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्।
     
बडादसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ।’
     
प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन्।