हावाहुरी र पानी पर्दा जान्छ विजुली, विद्युतको सास्ती कहिलेसम्म ?

दार्चुलामा विद्युत र संचार अवरुद्ध

प्रकाशचन्द्र भट्ट    

हावाहुरी र पानी पर्दा जान्छ विजुली, विद्युतको सास्ती कहिलेसम्म ?

दार्चुला । पानी पर्यो कि बिजुुली गयो, हावा चल्यो कि बिजुली गयो, बेला बेलामा पोल ढल्यो रे, तार चुडियो रे, लाइन फल्ट भयो रे, हप्ता दिनमा लाइन अवरुद्ध, कहिले आउछ थाहा छैन् । बुझ्नुपर्छ तीन चार दिन लाग्छ । यी वाहनाले दार्चुलाका उपभोक्ता हैरान छन् । कहिलेकाँही प्राविधिक कारणले प्रसारण लाइनमा समस्या आउँछ जो स्वाभाविक हो । किनकी इलेक्ट्रिकल वस्तुहरु कहाँ कतिबेला के हुन्छ भन्न सकिदैन । तर यहाँको लाईन हावाहुरी र पानी पर्दा जान्छ ।

हावाहुरी चल्ने समय चैत बैशाखदेखि लिएर असोज महिनासम्म दार्चुलाको लाइन बेला बेला अवरुद्ध हुन्छ । हप्ता दिनसम्म पनि उपभोक्तालाई सास्ती दिने विद्युत प्राधिकरण यसको उपाय खोज्दैन् । प्राधिकरणको ढिलासुस्ती र लापरवाही, प्रतिकुल मौसम र सीमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण दार्चुलामा बेलाबेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

सवस्टेशन थालीगाडदेखि गोकुलेश्वरसम्मको लाइनमा सबैभन्दा बढि विग्रने गरेको छ । विद्युत कर्मचारीहरुका अनुसार त्यो लाईनमा वन क्षेत्र पर्ने हुदा हावाहुरी चल्ने वित्तिकै लाईन जाने गर्दछ । कहिले कहिले त यस्तो समस्या आउँछ कि लाइन के भएको हो ? दार्चुला वितरण केन्द्रलाई नै थाहा हुदैन् । फल्ट खोज्न दुई तीन दिन लाग्छ । जवाफ आउछ– फल्टको समस्या देखिएको छ, कुन ठाउँमा फल्ट छ भन्ने खोजिरहेका छौ । 

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण पश्चात सुदूरपश्चिममा लोडसेडिङ अन्त्य हुने विश्वास लिइएको थियो । त्यसलाई राष्ट्रिय प्रशारण लाइनमा जाडेर सेवा प्रवाह भइरहेको छ तर जिल्लामा भने नियमित विद्युत अवरुद्ध हुन्छ । लोडसेडिङको जस्तै मार यहाँका उपभोक्ताहरुले खेपिरहेका छन् । 

  • विद्युत गए सामाजिक संजाल तात्छ

विद्युत उपभोक्ताहरुले अहिले विद्युतबाट सास्ती पाइरहेका छन् । लाइन गए फेसबुकमा स्टाटस लेख्नेहरुको घुइँचो हुन्छ । नानाथरी स्टाटस, विचार, सुझाव आलोचना, गाली सबै देख्न पाइन्छ । जत्ति गरे नि प्राधिकरण सुन्दैन्, देख्दैन् । यति हुदासम्म पनि केही सीप नचलेपछि अहिले सबैले कुलमान सम्झन्छन् । कुलमान दाई सुत्नु भयो कि क्या हो भनेर लेख्छन् । कसैले त कुलमान कहाँ छन् भनेर लेख्छन् । लाइन गयो कि कार्यालयमा उपभोक्ताको फोन आउन सुरु गर्छ । लाइन नआउँदासम्म टेलिफोनको घण्टी बज्न छोड्दैन । नेपाल विद्यूत प्राधिकरण, वितरण केन्द्र दार्चुला नामक कुनै सामाजिक सन्जाल साइट छैन् । उ सँग हरेक व्यक्तिसँग पहूँच भएको सामाजिक सन्जालको कुनै लिंक छैन् । विद्युत के भयो ? कहिले आउँछ ? कहाँ समस्या छ भनेर सूचना दिन फोन बाहेक अरु कुनै उपाय अवलम्बन गरेको छैन् ।

  • सरोकारवाला निकायको ताकेता पुगेन कि ?

जिल्लाको मूख्य समस्या भनेकै विद्युत र संचार हुन् । यी बेला बेला अवरुद्ध हुदै आएका छन् । यस विषयमा सरोकारवालाहरुले चासो नदिएको नागरिकको गुनासो छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले समय समयमा विद्युत कार्यालयका प्रमुखलाई आफ्नो कार्यकक्षमै बोलाएर समस्या के हो ? कसरी विद्युत अवरुद्ध हुन्छ ? यत्तिका समय किन बिजुली आएन भनेर बुझ्ने गरेको तथा सेवा नियमित गराउन निर्देशन दिने गरेको बताए । आफूले विद्युतीकरणको ठेक्का लिएका ठेकेदारहरुसँग समेत गुणस्तरीय र काम छिटो गर्न भन्ने गरेको सुनाए । जिल्ला प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले विद्युत कार्यालयलाई समस्या समाधान छिटो गर्न भन्ने गरेको बताए । उनले भने– ‘हामीलाई सन्चार नभइ हुदैन् विद्युत छैन भने संचार पनि बन्द हुन्छ त्यसैले यसप्रति जिम्मेवार बन्न आग्रह गरिरहेको हुन्छु ।’  

 

  • वैकल्पिक विजुली पनि छैन

यदि बत्ति गयो भने पनि विकल्पको रुपमा उपयोग गर्न अन्य कुनै विजुली छैन् । गत वर्ष लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाममा नियमित पहूँच पुगेको डुङ्गरी लघुजलविद्युतमा क्षति गर्यो । विद्युत गृहका सामानमा क्षति हुदा संचालनमा आउन सकेको छैन् । यस्तै गत भदौ १३ गते आएको बाढि पहिरोले दुहुँ गाउँपालिकामा रहेका आधा दर्जन लघुजलविद्युत सबै बगायो । जसले गर्दा अहिले पनि दुहुँवासी टुकीकै उज्यालोमा छन् । अहिले राष्ट्रिय प्रशारण लाइनको बत्ति गए विकल्पमा उपयोग गर्न अन्य विद्युत नहुदा उपभोक्तालाई टुकि र सौर्य उर्जाको प्रयोगको विल्पक छैन् । त्यसैले विग्रेका, भत्केका संरचना निर्माण गर्न सम्बन्धित निकायले चासो दिनु अतिआवश्यक छ ।

  • विद्युतको सास्ती कहिलेसम्म ?

मावन जीवनको एउटा महत्वपूर्ण अंगजस्तै बनेको छ विद्युत । हप्तादिन सम्म पनि विद्युत नपाउदा उपभोक्ताको कार्यशैलीमा समेत असर परिरहेको छ । बर्खामा पानी पर्दा होस हिउँदमा हुरी चल्दा नै किन नहोस विद्युत अवरुद्ध हुने समस्याले उपभोक्ता आजित भैसकेका छन् । यसको विकल्प र समाधान खोज्नतर्फ भने सरोकारवाला निकायले चासो देखाएका छैनन् । त्यसो त, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका व्यक्ति हुन् । अघिल्लो कार्यकालमा उनले नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए । केही महिना अघि उनी पुनः नियुक्त भएका छन् । तर दार्चुलावासीले विद्युत सेवा नियमितका हिसाबले कुलमानको पुनरागमन भएको अनुभूति अझै गर्न सकेका छैनन् । दार्चुलाका ५० प्रतिशत बढि घरधुरी अझै विद्युतको पहूँचमा छैनन् । चालु आर्थिक वर्षभित्र जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरण गर्ने भनिएपनि त्यो पूरा हुने छाट देखिएको छैन् । अब विद्युत प्राधिकरण यसमा जिम्मेवार भएर नियमित रूपमा विद्युत दिनुपर्छ । आम उपभोक्ताले पाएको सास्तीलाई हटाउन प्रयास गर्नुपर्छ । आफ्नो कार्यमा गैरजिम्मेवार हैन जिम्मेवार बन्नुपर्छ । सास्तीलाई हटाउने उपाय र विकल्पको खोजी गर्नुपर्छ र पहल गर्नुपर्छ । 

  • दार्चुलामा विद्युत र संचार अवरुद्ध

दार्चुलामा शुक्रवार देखि विद्युत अवरुद्ध भएको छ । शुक्रवार अवरुद्ध भएको विद्युत आइतवार केही घण्टा संचालनमा आएपनि पुनः सोमवारदेखि अवरुद्ध छ । यस्तै सोमवार रातीदेखि फोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । फोन तथा इन्टरनेट नहुदा बैंक तथा बीत्तिय संस्थाका साथै एफएम रेडियो प्रभावित बनेका छन् ।



मङ्गलबार ०२, कार्तिक २०७८ ०१:३१ मा प्रकाशित

#दार्चुला #विद्युत #संचार #अवरुद्ध
Loading...

प्रतिकृया दिनुहोस