भारतको नेश्नल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जंगी अड्डा भ्रमण

भारतको नेश्नल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जंगी अड्डा भ्रमण

काठमाडौं । भारतको नेश्नल डिफेन्स कोर्सको भ्रमण दलले नेपालको जंगी अड्डाको भ्रमण गरेको छ । नेपाली सेनाले जनाएअनुसार गत असोज ३१ गतेदेखि नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको नेश्नल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलले आज (मंगलबार) जंगी अड्डामा भ्रमण गरेको हो ।

जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका हेड अफ द डेलिगेशन Rear Admiral Dhiren Vig सँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए । तत्पश्चात नेपाली सेनासम्बन्धी विषयहरुमा प्रस्तुतिकरण र अन्तरक्रिया समेत भएको थियो । कार्यक्रमको शुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी फ्याकल्टी मेम्बर तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । उक्त भ्रमणदलले आजै रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमणदल यही कार्तिक ०६ गते भारत फिर्ता हुने कार्यक्रम रहेको छ ।