महाकाली नदिमा जलस्तरको बहाव ९२ बर्ष यताकै ठूलो मापन

धनगढी खबर    

महाकाली नदिमा जलस्तरको बहाव ९२ बर्ष यताकै ठूलो मापन

धनगढी । लगातारको बर्षाका कारण महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ ।

मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । यस अघि सन २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

नदिमा पानीको बहाव उच्च भए पछि ९२ बर्षअघि बनेको शारदा ब्यारेज (वनबसा पुल) समेत जोखिममा परेको छ । पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ ।

बृटिश भारत सरकारको पालामा महाकाली नदिमा सन १९२३ मा पुल निर्माण शुरु गरिएको थियो । सन १९२९ मा पुल निर्माण सम्पन्न भएको थियो ।

त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।

शारदा ब्यारेजको रेकर्ड अनुसार सन १९६६ मा ४ लाख ३७ हजार, सन १९६९ मा ४ लाख ८० हजार ५९६, सन १९७२ मा ४ लाख ९६ हजार एकसय, सन २००८ मा ४ लाख ६१ हजार ७८८ र सन २०१३ मा ५ लाख ४४ हजार ४७६ उच्च बहाव मापन गरिएको छ । अहिले सम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।



मङ्गलबार ०२, कार्तिक २०७८ ०४:५८ मा प्रकाशित

# महाकाली नदि #लगातारको बर्षा

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस