तुम्लिङमा चार विदेशी पर्यटकसहित १२ फसे

तुम्लिङमा चार विदेशी पर्यटकसहित १२ फसे

बाक्लो हिउँ पर्दा ट्रेकिङमा आएका चार विदेशी पर्यटकसँगै १२ जना हुम्लाको तुम्लिङमा फसेका छन्। हुम्लाको हिल्सा र लिमीको ट्रेकिङमा आएका स्लोभेनियाका ४ नागरिक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन्।

ट्रेकिङ सकाएर सिमकोट फिर्ता हुने क्रममा हिमपात भएपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको तुम्लिङबाट सिमकोट फर्कने न्यालु लेकको बाटो अवरुद्ध हुन पुगेको थियो। जसले गर्दा चार जना स्लोभेनियाका नागरिक सहित १२ जना रोकिएको उनले बताए। उनका अनुसार उनीहरुको साथमा आठवटा खच्चडसमेत रहेका छन्।

उनीहरु असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएका थिए। चार दिनयता न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिएको छ। रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाका अनुसार ट्रेकिङपछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम रहेको थियो। न्यालुमा तीन फिटभन्दा बढी हिमपात हुँदा बाटो बन्द भएपछि टोली आउन नसकेको उनले सुनाए।

तुम्लिङमा केही होटल र चौरीका खर्क छन्। टोली उतै बसेको लामाले जानकारी दिए। टोलीको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालय लेखी पठाएको प्रजिअ आचार्यले जानकारी दिए। उनका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन। उद्धारको लागि एयर डाइनेष्टीको हेलिकोप्टर मगाइएको थियो। बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।