बझाङमा बाढी पहिरो : ९ को मृत्यु, २१ अझै बेपत्ता

बझाङमा बाढी पहिरो : ९ को मृत्यु, २१ अझै बेपत्ता

बझाङ ।  कार्तिकमा भएकाे भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन । वेपता ब्यक्तिहरुलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेकाे कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भए । दुई दिन देखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भेटिएको छ । 

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले खोजिकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायीरुपमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।  ।

विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ । 

यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाँउपालिकाको माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशी  रहेका छन् । एकजनाकाे पहिचान खुलेकाे छैन । 

छबिसपाथीभेरा गाँउपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् भने थलारा गाँउपालिकाका दुई सय बढी परिवार विस्थापित भएका छन् ।

सो क्षेत्रमा यतिबेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।