पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो

डोटी  | अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्ग खुलेको हो। राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन्।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अवरुद्ध भएको उक्त राजमार्ग खुलाएको हो। यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त राजमार्गको कालागाढ, अड्यौल, बानीडुग्रीसैनलगायतका ठाउँमा आएका पहिरो पन्छाइसकिएको र अब डडेल्धुरा क्षेत्रमा पर्ने ठाउँमा आएको पहिरो पन्छाउने काम भइरहेकाले सम्भवःत आज साँझसम्म उक्त राजमार्ग पनि खुल्नेछ। वर्षा र बाढी पहिराले अहिलेसम्म जिल्लामा १४ जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दजनौँ सडक अवरुद्ध भएका छन्।