समयमै अस्पताल पुर्‍याउन नसक्दा बैतडीमा गर्भवती महिलाको ज्यान गयो

समयमै अस्पताल पुर्‍याउन नसक्दा बैतडीमा गर्भवती महिलाको ज्यान गयो

समयमै अस्पताल पुर्याउन  नसक्दा बैतडीमा गर्भवती महिलाको मृत्यु भएको छ । 

जिल्लाको डीलाशैनी गाउँपालिका ६ थलाल गाउँकी २१ वर्षिया पूजा थलालको समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको हो । 

डीलाशैनी गाउँपालिका स्वास्थ्य सँयोजक पुरुषोत्तम नाथका अनुसार बेथा लागेकी पूजालाई कात्तिक १ गते गोकुलेश्वर अस्पताल पुर्याएको थियो । 

सुत्केरी गराउन गोकुलेश्वर अस्पताल ल्याइएकी पूजाको स्वास्थ्यमा एक्कासि थप समस्या देखिएपछि सोहिदिन राती ११बजे डडेल्धुरा रेफर गरिएको र अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध  हुँदा समयमै अस्पताल पुर्याउन  नसककेर उनको बाटोमै मृत्यु भएको स्वास्थ्य सँयोजक नाथले बताउनुभयो । 

उहाँका अनुसार साँझ ७ बजे गोकुलेश्वर अस्पताल पुगेकी पूजाको राति १० बजे पिषाबमा इम्पालनसिया देखिएको र उच्च रक्तचाप समेत भएपछि लोडिङ डोज दिएर ११ बजे राती गोकुलेश्वर अस्पतालले डडेल्धुरा रेफर गरेको थियो । 

दशरथचन्द राजमार्गको अनराखोलिमा पहिराका कारण सडक अवरुद्ध भएपछि समयमै पूजालाई अस्पताल पुर्याउन  नसकिएको पारिवारिक स्रोतको भनाई छ । पहिलो सन्तानलाई जन्मदिन लागेकी पूजा समयमै अस्पताल पुग्न नपाउँदा बाटोमै अस्ताएकी हुन् । उमेरै नपुगि हुने बिवाह हरुले पनि अहिले किशोरीहरु अकालमै ज्यान गुमाउन बाध्य छन ।