उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छः प्रधानमन्त्री

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छः प्रधानमन्त्री

बझाङ | बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन्। सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए। 

उक्त मागपत्रका बारेमा प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताए।