भन्सारले लिलाम बिक्रीका लागि सूचना निकालेका चार पाङ्ग्रे साना गाडीको मुल्याकंनमा त्रुटी

भन्सारले  लिलाम बिक्रीका लागि सूचना निकालेका चार पाङ्ग्रे साना गाडीको मुल्याकंनमा त्रुटी

कैलाली जिल्ला भन्सार कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेका चार पाङ्ग्रे साना गाडीको मुल्याकंनमा प्राविधिक समितिले त्रुटी गरेको पाइएको छ ।

प्राविधिक समितिको मुल्याकंन पछि भन्सार कार्यालयले माघ १८ गते २१ दिनको म्याद राखेर लिलाम बिक्रीका लागि सूचना निकालेको थियो । सूचना अनुसार चार पाङ्ग्रे साना गाडीबारे जानकारी दिन राखिएको इन्जिन नम्बर, चेसिस नम्बर बनेको मितिमध्ये बनेको मितिमा त्रुटी पाइएको हो ।

भन्सार कार्यालयको सूचना अनुसार लिलाम बिक्री गर्न लागिएको होण्डा सिटी कार, महिन्द्रा बोलेरो जीप, मारुती सुजुकी कार,  टाटा सेन्ट्रो कार र हुण्डाई कार मध्ये बोलेरो जीप बाहेक सबैको निर्माण भएको मितिमा हेरफेर गरिएको छ ।

गाडीमा रहेको इन्जिनमा भएको सूचना अनुसार २००७ मा निर्माण भएको होण्डा सिटी कारलाई २०१४ मा बनेको भन्दै सूचना निकालिएको छ ।

यस्तै २००६ मा बनेको मारुत सुजुकी कारलाई सन २०१२ मा बनेको भन्दै सूचना जारी भएको छ भने  २००८ मा बनेको टाटा सेन्ट्रो कारलाई २०११ मा बनेको सूचनामा उल्लेख छ । यस्तै २००८ मै बनेको हुण्डाई कारलाई २०१० मा बनेको देखाइएको छ । बोलेरो जीपमा मात्रै गाडी निर्माण भएको बर्ष बारे इन्जिनमा भएको र सूचनामा प्रकाशित गरिएको विवरण मेल खान्छ । गाडी निर्माण भएको १० बर्ष अवधि पुरा भएपछि लिलाम बिक्री गर्न नपाइने प्रावधानका कारण लिलामका लागि गाडीहरु निर्माण भएको बर्ष बढाइएको बताइन्छ ।

तर कैलाली जिल्ला भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत कुमार गौतम भने प्राविधिक समितिले गरेको मुल्यांकनका आधारमा भनर कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेको बताउनुभयो ।

उहाँले मेकानिकल इन्जिनियरले गर्ने मुल्याकंनका आधारमा सूचना निकालिने बताउनुभयो । यातायात ब्यवस्था कार्यालयमा मेकानिकल इन्जिनियर नभएपछि सडक बिभागको हेभी इक्वीपमेन्ट कार्यालय गोदावरीबाट मेकानिकल इन्जिनियर बोलाएर प्राविधिक मुल्याकंन गरिएको गौतमले बताउनुभयो । उहाँले गाडीमा कति जनाले टेण्डर हाले र अधिक्तम मुल्य कति आयो भन्ने बाहेक गाडीहरु दिने निर्णय नभएको पनि जानकारी दिनुभयो ।

लिलाममा गाडी खरीद गर्न चाहनेहरुका निवेदन मात्रै आएकोले ती निवेदनहरु सदर नभएम्म कुनै प्रक्रिया शुरु नहुने उहाँले बताउनुभयो । आफुहरु प्रशासनिक कर्मचारी भएकोले प्राविधिक समितिकै प्रतिवेदन मान्य हुने पनि उहाँले बताउनुभयो ।

प्रमुख भन्सार अधिकृत विदामा रहेकोले उहाँ कार्यालयमा हाजिर हुने बित्तिकै बैठक बस्ने सदर गर्ने नगर्ने निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

१० बर्ष भन्दा लामो समय रहेका गाडीहरुले प्रदुषण बढाउने भएका कारण त्यस्ता गाडीहरुको लिलाम बिक्री गर्न नपाइने र कवाडी मुल्यमा लिलाम गर्नुपर्ने भएकोले प्राविधिक समितिलाई ती गाडीहरुमा निर्माण भएको बर्ष परिवर्तन गरी प्रतिवेदन दिन भनिएकोले समितिले सोही अनुसार प्रतिवेदन दिएको समाचार स्रोतले जानकारी दिएको छ ।