धनगढी पुगेका देउवाले भने, ‘सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यार, एमसीसी पास हुन्छ’

धनगढी पुगेका देउवाले भने, ‘सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यार, एमसीसी पास हुन्छ’

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो । ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने ।

प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए । ‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।